प्रस, वीरगंज, ३० फागुन/
वीरगंज महानगरको बजार अनुगमन टोलीले मङ्गलवार बसपार्क, बाइपास सडक वरिपरिका क्षेत्रमा अनुगमन गरेको र अखाद्य तथा मिति सकिएका पेय तथा खाद्य पदार्थ नष्ट गरेको छ ।
फागु पूर्णिमा नजीकिएसँगै हिजो उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा व्यापारीहरूले असहयोग गरेका थिए । उनीहरूले टोली आएपछि पसल बन्द गरेका थिए । आर्थिक मन्दीको चपेटमा परेको र पसल भाडासमेत तिर्न नसकेको अवस्थामा अनुगमनको नाममा व्यापारीहरूलाई दुःख दिने काम गरेको भन्दै उनीहरूले पसल बन्द गरेका थिए ।
उपप्रमुख इम्तियाज आलमले बन्द पसलमा सिल गर्ने चेतावनी दिएपछि उनीहरूले पसल खोलेको बताइएको छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ, वीरगंजका अध्यक्ष हरि पन्तले बसपार्क क्षेत्रका होटल, कोल्ड ड्रिङ्क, किराना गरी सातवटा पसलहरूमा अनुगमन गरेको र म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ नष्ट गरिएको बताए ।
वीरगंज महानगरका खाद्य अधिकृत विपिनकुमार दासले अनुगमनको क्रममा व्यापारीहरूले पसल बन्द गरेर असहयोग गरेको बताए ।
अनुगमनमा वडा प्रहरी कार्यालय बिर्ता, सशस्त्र प्रहरी, नगर प्रहरी, नापतौल, जिल्ला प्रशासन र वीरगंज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सहभागी थिए ।