दाइजो तराईको लागि अभिशाप बनेको छ । कानूनी रूपमा दाइजो लिनदिन हुन्न र यो कसूर गर्नेलाई सजायको पनि व्यवस्था छ । तर पनि हाम्रो समाजबाट दाइजो प्रथा हट्न सकेको छैन, बरु झन् बढिरहेको छ । दाइजोविनाको आदर्श बिहे गर्नेहरूको सङ्ख्या बढ्न सकेको छैन । विभिन्न सङ्घ–संस्थाहरू दाइजोविरुद्ध अभियानमा लागेका छन् । सामाजिक सचेतना गराउँदै आएका छन् । कार्यक्रमहरूमा दाइजो नलिने घोषणा गरिन्छ तर वैवाहिक कार्यक्रमहरू भने दाइजोरहित हुन सकिरहेको छैन ।

दाइजोको कुरा पछिल्लो चरणमा विवाहित घटनापछि सृजना हुने समस्याबाट सार्वजनिक हुने गरेको छ । विवाहपछि घरमा परिवारबाट दुःख–पीडा दिने, विवाहिता केटीको कुनै कारणवश मृत्यु भएपछि, आत्महत्या गरेपछि, हत्या भएपछि, घरबाट निकालिएपछिका घटनामा माइतपक्षबाट दाइजोको कुराहरू आउँछ ।

मोटरसाइकल माग भएको थियो, नगद माग भएको थियो, कार माग भएको, अनि फलाना कुरा नदिंदा छोरीमाथि घटना भएको आदि इत्यादि आरोपहरूको पुलिन्दा खुल्न पुग्छ । त्यस अघि समाजले दाइजोको कुरा गर्दा विनादाइजो बिहे भएको बेहुला र बेहुली दुवै पक्षले दाबी गर्छन् । आपूm दाइजोविरोधी देखाउन, प्रस्तुत हुन दुवै पक्ष दत्तचित्त भएर एकबोली बोल्छन् । बेहुलाले बेहुली पक्षको तारिफको पुल बाँध्ने र अनि बेहुली पक्षले बेहुला पक्षको तारिफको पुल बाँध्ने काममा कुनै कन्ज्युस्याइँ गर्दैनन् । वैवाहिक जीवन राम्ररी बिते सबै ठीक, अन्यथा बाधा व्यवधान सिर्जना भएको खण्डमा माइतीपक्षको पहिलो रेडिमेड आरोप हुने गर्दछ दाइजोे ।

पर्सा, बारा, रौतहटलगायत तराईका जिल्लामा अहिलेसम्म यस्तै हुँदै आएको छ । प्रहरी तथ्याङ्कले पनि यस कुराको पुष्टि गर्छ । अहिलेसम्म कसैले बेहुला पक्षले दाइजो माग्यो भनेर शुरूमा उजूरी गरेकै छैनन् । दाइजोको कुरा त वैवाहिक कार्यक्रम तय हुँदै गर्दा सम्पन्न भएको हुन्छ । मधेसमा छेका र पहाडमा टीकाटालोको बेला लेनदेनको विषय तय हुन्छ । खासगरी बेहुलीपक्षले दिने नगद, जिन्सी सामानहरूको सूची तयार गरिन्छ ।

नगद, जिन्सीको टुङ्गो लागेपछि मात्र खाने, बस्ने अनि कतिजना जन्ते आउनेजस्ता विषयमा छलफल, सहमति बन्ने गर्छ । छेका वा टीकाटालो विवाह हुनुभन्दा पहिले हुने हो । त्यस अवधिमा बेहुलापक्षको कुरै भएन बेहुली पक्षले मसँग यति नगद, जिन्सी माग भयो भनेर समाज, प्रहरी प्रशासन कसैलाई जानकारी गराइन्न ।

अहिले जुनसुकै वैवाहिक कार्यक्रममा कसैले पनि आदर्श बिहे गरेको कुरा स्वीकार्दैन । दाइजोको जन्जालमा सबैजना उनिएकाले एकले अर्कामाथि विश्वास गर्ने वातावरण छैन । कसैले दाइजो नलिएर बिहे गरेको भन्छ भने उसलाई समाजले पत्याउदैन । हो, जसले सार्वजनिकरूपमा आदर्श बिहे गर्छन् उनीहरू यस प्रथाका अपवाद भने हुन् ।

पर्सा जिल्लामा फागुन २८ गते एकैदिन दुर्ईवटा वैवाहिक कार्यक्रमहरूको पृथक समाचार बाहिर आयो । एउटा फागुन २१ गते वैवाहिक कार्यक्रममा जन्तेले माछा खान नपाएर भाँडिएको बिहे र अर्काे सुनको सिक्री नदिंदा वरमाला भैसकेर भाँडिएको बिहे । दुवै घटनामा दाइजो लेनदेन भएको थियो । तर समाज, प्रहरीले नै एउटालाई वैधानिक साबित गर्न सके भने अर्काेलाई गैरकानूनी । हाम्रो समाज यस्तै छ र यसरी नै चलिरहेको छ त्यसैले एकले अर्कामाथि हाँस्नुभन्दा आफैंमा परिवर्तन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here