जकार्ता, ३० फागुन/एएफपी
समुद्रमा डुबेको डुङ्गामा झुन्डिएर तीन दिनको पखाईपछि इन्डोनेशियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधवार बताएका छन् ।
दक्षिण सुलाबेसी प्रान्तको दुर्गम सेलेयार टापुनजीकैको समुद्रमा शनिवार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा समुद्रमा तैरिरहेको अवस्थामा तीन दिनपछि दुई छुट्टाछुट्टै टापुमा फसेको अवस्थामा फेला परेका हुन् ।
खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ । स्थानीय सरकारी अधिकारी एन्डी काको अमरासले एएफपीसँग भने, “उनीहरू तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयार पु-याएको थियो । ती दुईजना छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।
डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्पm जाँदै गरेको थियो । नौसेना र उद्धार स्वयंसेवकहरूले खोजी कार्यमा सहयोग गरिरहेका छन् ।
“संयुक्त टोलीले थप खोजी र उद्धार कार्य गर्नेछ भने भेटिएका मछुवालाई उनीहरूको घरतर्पm पठाइएको स्थानीय खोज तथा उद्धार अधिकारी एन्डी रासवानले एएफपीसँग बताए । उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेकोे उनले बताए ।
सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो ।
एएफपीसँग कुरा गर्दै अमरासले भने, “तीन दिनसम्म समुद्रमा लाइफ ज्याकेट लगाएर डुङ्गामा आफूलाई बाँधेर बसेको मछुवाहरूले बताएका छन् ।”
मछुवासहितको घोप्टिएको डुङ्गा पानीमा तैरिंदै सेलेयार टापुमा पुगेको उनले बताए । अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।
डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् । यद्यपि इन्डोनेशियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेका जनाएको छ ।
इन्डोनेशियामा डुङ्गामा वास्तविक यात्रीहरूको सङ्ख्या तोकिएकोभन्दा फरक हुनु सामान्य कुरा मानिन्छ ।
अधिकारीहरूले मङ्गलवार बिहानै घटनाको बारेमा रिपोर्ट प्राप्त गरे पनि खराब मौसमका कारण उनीहरूको प्रयासमा बाधा पुगेको बताएका छन् ।
करीब १७ हजार टापु रहेको दक्षिणपूर्वी एशियाली द्वीप समूह इन्डोनेशियामा सुरक्षा मापदण्डको फितलोपनका कारण पटकपटक समुद्री दुर्घटना हुने गरेको छ ।
सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस