प्रस, वीरगंज, २८ फागुन/
नारायणी रङ्गशालामा सोमवारदेखि जिल्ला खेलकूद विकास समिति पर्साको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।
नेपाली काङ्ग्रेस, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले प्रतियोगिताको उद्घाटन गर्दै खेलजगत्को विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले खेलको माध्यमबाट देश र विदेशमा नेपालको नाम अगाडि आइरहेको चर्चा गर्दै सोको विकासका लागि आफ्नो तहबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पर्साका ठोरी, सखुवाप्रसौनी, कालिकामाई, पटेर्वासुगौली गापा र पर्सागढी नपा तथा वीरगंज महानगरपालिका गरी छ वटा पालिका सहभागी छन् ।
आज भएको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ सन्देश खत्री (ठोरी) प्रथम, लालबहादुर ठाकुर द्वितीय र मुमताज अन्सारी (पर्सागढी) तृतीय भएका थिए । महिलातर्फ भने वीरगंज महानगरकी कुन्सुम खातुन प्रथम, पर्सागढीकी नन्दनी कुमारी द्वितीय र कालिकामाई गापाकी रोशनी शर्मा तृतीय भएका थिए ।
सय मिटर दौडमा पुरुषतर्फ महानगरका पुष्पराज यादव प्रथम, पर्सागढी नपाका सुजन मल्ल द्वितीय र ठोरी गापाका अनमोल श्रेष्ठ तृतीय भएका थिए ।
यसैगरी, ज्याबलिङ थ्रोमा ठोरीका किशोर पाण्डे प्रथम, विजय तामाङ द्वितीय र पर्सागढी नपाका मदन विश्वकर्मा तृतीय भएका थिए । महिलातर्फ वीरगंज महानगरकी नजराना खातुन प्रथम, ठोरी गापाकी रजनी साह द्वितीय र आशिका पाख्रिन तृतीय भएका थिए । रिले दौड चार सय चार प्वाइन्टमा पुरुषतर्फ पर्सागढी नपा प्रथम, ठोरी र सखुवाप्रसौनी गापा क्रमशः द्वितीय र तृतीय भएका थिए । महिलातर्फ पर्सागढी, वीरगंज र ठोरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।