• राजेन्द्रप्रसाद कोइराला
अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस मार्च ८ तारिख तदनुरूप यस वर्षको फागुन २५ गते संसारभर मनाइयो । सदाझैं यसपटक ‘समावेश गर्न प्रेरित गरौं’ भन्ने मूल विषयलाई केन्द्र बनाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
यस दिवसको अवसर पारेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिन्छ । लैङ्गिक समानतासहितको महिला सशक्तीकरणका लागि यस्ता अभियान सञ्चालन हुँदै आएका छन् । विश्व महिला आन्दोलनकी नेतृमध्ये क्लारा जेटकिन पनि एक हुन् । उनले नै यो आन्दोलनलाई अगाडि बढाएकी थिइन् । क्लाराले नै महिलाको समान अधिकारको माग गरेकी थिइन् ।
यस वर्षको नाराको अर्थ जब हामी अरूलाई महिला समावेशीकरणको मर्म बुझ्न र भइरहेको अवस्थाको मूल्याङ्कन गर्न प्रेरित गर्छौं तब मात्र हामी राम्रो संसार निर्माण गर्न सक्छौं । त्यस्तै, जब महिलाहरू आफैं समावेश हुन प्रेरित हुन्छन् त्यहाँ सान्दर्भिकता र सशक्तीकरणको भावनासमेत उत्पन्न हुन्छ भन्ने रहेको छ । यस दिवसले सामूहिकरूपमा महिलाहरूलाई समावेशी बनाउन सबैले सबैलाई प्रेरित गरौं र महिलालाई पनि पुरुषसरह स्थानमा राखौं भन्ने उद्देश्य राखेको छ । महिला सशक्तीकरण अभियानका लागि महिलालाई समान अवसर मात्र होइन, हरेक क्षेत्रमा समावेशी बनाउनुपर्छ र संसारभर यो मान्यतालाई सबैले अँगाल्नुपर्छ भन्ने यस वर्षको महिला दिवसको नाराको अर्थ हो ।
आधा आकाश ढाक्ने महिला र महिलाका उपलब्धिहरूलाई कम आकलन गर्न नहुने र समानताका साथ बाँच्न संसारभरका महिलाहरूलाई सामाजिक, आर्थिक, राजनीतिकजस्ता पक्षमा समावेश गराउन आवश्यक छ ।
अठारौं र उन्नाइसौं शताब्दीतिर केही सचेत र बौद्धिक महिला वर्गीय र लिङ्गीय दुवै रूपबाट शोषित भएको निष्कर्ष निकाल्दै महिलाहरू सङ्घर्षको मैदानमा ओर्लिएका थिए । वास्तवमा तत्कालीन समयमा उनीहरूमाथि आर्थिक तथा सामाजिक दुवै किसिमले शोषण हुने गर्दथ्यो । विशेषगरी अठारौं शताब्दीमा औद्योगिक क्रान्ति भएपछि कलकारखाना स्थापना भए । श्रमिकको आवश्यकता भएपछि महिलाले पनि घरको चौघेराबाट उम्कने अवसर पाए तर त्यहाँ पनि महिलाको आशामा तुषारापात भयो । समान कामका लागि उनीहरूलाई न्यून ज्याला पाउन थालेपछि उनीहरू झस्किए । यद्यपि तुलनात्मकरूपमा उनीहरू पुरुषभन्दा बढी श्रम गर्दथे । यसले उनीहरूको आर्थिक तथा सामाजिक स्तरमा खासै फरक परेन । त्यही कुराले रन्थनिएर ‘समान काममा समान ज्याला’ जस्ता नारा लगाउँदै महिलाहरू सडकमा ओर्लेका थिए । यसलाई नारीवादी आन्दोलनको पहिलो चरणका रूपमा लिइन्छ ।
महिला आन्दोलनको दोस्रो चरण सन् १९६० देखि शुरू भयो, जसले महिला समानताका साथै महिला स्वायत्ततामा जोड दियो । यसको मर्म थियो– त्यस्तो वातावरण होस्, जहाँ महिलाले महिलाका रूपमा लेख्न, पढ्न र सोच्न पाऊन् । उनीहरूको स्वायत्तताको मागले शरीर र राजनीतिसँग पनि सम्बन्ध राख्दछ । परापूर्वकालदेखि महिलाका शरीर र जीवनमाथि पुरुषले गर्दै आएको नियन्त्रण (प्रयोग, उपयोग, दुरुपयोग र शोषण) अब बन्द गर्नुपर्छ । त्यस्तै महिला आन्दोलनको तेस्रो धार सन् १९८० देखि शुरू भएको मानिन्छ । यसले लैङ्गिक दर्शनका साथसाथै महिला–महिलाबीचको विविधता र यसैका आधारमा हुने दमन र शोषणको व्याख्या ग¥यो । अहिलेसम्म महिला आन्दोलनका अन्तर्वस्तु इतिहासका यिनै सन्दर्भ र इतिहासमा आधारित छ ।
राणाकालमा भएका महिलाका सङ्घर्षले सती प्रथा, बालविवाह, दास प्रथाजस्ता कुरीतिमा निषेध कानून बनाउने पृष्ठभूमि तयार पारेको थियो । यो ठूलो उपलब्धि थियो । त्यस्तै पञ्चायतकालमा विभिन्न विश्व महिला सम्मेलनमा नेपाली महिलाको सहभागिता हुनु, छैटौं पञ्चवर्षीय योजनाबाट विकासमा महिलाको अवधारणा भित्रिनु महŒवपूर्ण काम थियो । बहुदलीय व्यवस्था पुनर्बहालीपछि महिलामाथि हुने सबै प्रकारका हिंसा तथा भेदभावविरुद्ध महासन्धिमा नेपालले पनि हस्ताक्षर गर्नु अर्को महŒवपूर्ण पक्ष हो । पहिलेका केही कानून संशोधन गर्दै महिलालाई सम्पत्तिमा समान अधिकार, प्रजनन अधिकार, गर्भपतन आदिका अधिकार व्यवस्था गर्नुले महिलाको आर्थिक तथा शारीरिक संरक्षण हुन थाल्यो ।
नेपालको संविधानले राज्यका हरेक तहमा लैङ्गिक समानतासहितको समावेशी सहभागिताको ग्यारेन्टी गर्ने स्पष्ट व्यवस्था गरेको छ । ऐन कानूनमा महिला अधिकारलाई उचित स्थान दिइएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । नेपालको संविधानले समानताको अधिकारलाई मौलिक अधिकारको हकमा राखेर सबै नागरिकलाई कानूनको समान प्रयोगको प्रत्याभूति गरेको छ । नेपालको संविधानको धारा ३८ ले महिलाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । राज्यले कानून बनाई उनीहरूको विशेष संरक्षण गर्न सक्ने बाटो खोलिदिएको छ ।
तार वाग्ले आप्mनो आलेखमा लेख्छन्–“ संविधानमा नै महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने बाध्यकारी व्यवस्था भएका कारण संसद्मा प्रतिनिधित्व सुरक्षित गरी एशियामैं राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ । तर राज्यका विभिन्न क्षेत्रसँग सम्बन्धित कानूनमा भएका व्यवस्थालाई महिलाको दृष्टिबाट विश्लेषण गर्दा केही असमानता पनि भेटिन्छ । कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा र महिलाको चौतर्फी विकासमा लगानी बढाउन नसक्दा अझै पनि राज्यको हरेक क्षेत्रमा महिलाको उल्लेखनीय सहभागिता हुन सकेको छैन, जसका कारण महिला आर्थिकरूपमा सक्षम हुन सकेका छैनन् । २०७८ को जनगणनाले महिलाको आर्थिक अवस्था कमजोर देखाएको छ, जस अनुसार देशका ४२.९ प्रतिशत महिला कुनै पनि आर्थिक काममा संलग्न छैनन् । यसको मुख्य कारक हाम्रै सामाजिक संरचना तथा अतिरिक्त घरायसी दायित्व हो । ३२.४ प्रतिशतले घरधन्दा र ९.८ प्रतिशत पारिवारिक हेरचाहका कारणले निष्व्रिmय बस्न बाध्य भई आर्थिक काममा संलग्न हुन नपाएको जनगणनाको तथ्याङ्कले देखाउFछ ।”
हाम्रो देशको कुरा गर्दा–जबसम्म महिला आर्थिकरूपले स्वतन्त्र र् स्वायत्त हुँदैनन, उनीहरू उत्पीडन र शोषणको शिकार भइरहने छन् ।
महिलाहरूको आर्थिक स्वतन्त्रता समाजमा महŒवपूर्ण हुन्छ । यसले महिलाहरूलाई समृद्धि, स्वावलम्बन, र समाजको उन्नति र उन्नयनमा ठूलो मदत प्रदान गर्छ । आर्थिक स्वतन्त्रताको अभावले महिलाहरूलाई नियन्त्रणरहित अवस्थामा राख्छ र उनीहरूको समृद्धि र अधिकारमा बाधा पार्छ । आर्थिक स्वतन्त्रताको अभावमा उनीहरूको मनोबल सधैं गिरेको हुन्छ । आप्mनो भावना, इच्छा र अभिलाषालाई सधैं दमन गरेर राख्नुपर्ने बाध्यता हुन्छ । हाम्रो देशको कुरा गर्दा अझै पनि अधिकांश महिला आर्थिक स्वतन्त्रताबाट वञ्चित रहेको अवस्था छ । महिलाहरूले आर्थिक स्वतन्त्रता परिवारको स्वास्थ्य, शिक्षा र घरेलु योजनाका लागि महŒवपूर्ण हुन्छ ।
स्वतन्त्र आर्थिक हैसियतले महिलाहरूलाई स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्छ र आपूmविरुद्ध हुने अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाउन टेवा दिन्छ । महिलाले आप्mनो आवाज दमित पार्नुपर्ने एउटै कारण वित्तीय कमजोरी हो । आर्थिक स्वतन्त्रताले उच्च मनोबलको विकास गर्दछ जसले एउटा पूरा परिवारको आर्थिक– सामाजिक पाटोलाई प्रोत्साहन दिन मदत गर्दछ । साथै, महिलाहरूको आर्थिक स्वतन्त्रताले पारिवारिक, राजनीतिक तथा सामाजिक भूमिकामा पनि सकारात्मक परिणाम प्रदान गर्दछ । यसले समाजलाई आधिकारिक र समान बनाउँछ र नेपाली समाजमा महिलाहरूको योगदानलाई महŒवपूर्ण बनाउँछ ।
महिलाहरूलाई समावेशी बनाउन :
– महिलालाई आर्थिक जिम्मेवारी दिई सशक्त बन्ने मौका दिने ।
– महिलाको क्षमता अनुसार नोकरी तथा अन्य व्यक्तित्व विकासमा सहभागी गराउने ।
– नेतृत्व, निर्णयकर्ता र व्यवसायमा समावेश गराउने ।
– सम्पत्ति तथा भौतिक निर्माणमा पनि सहभागी गराउने ।
– आप्mनो स्वास्थ्यबारे आफैं निर्णय गर्न सक्ने अवस्था सृजना गर्ने ।
– खाद्य सुरक्षा तथा कृषि उपजमा निर्णय गर्ने अवसर दिने ।
– गुणस्तरीय शिक्षा तथा तालीममा पहुँच पु-याउने ।
– खेलकूदको क्षेत्रमा उच्च सहभागिताका लागि हौसला र प्रेरणा दिने ।
– रचनात्मक, कलात्मक र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने र
– अन्य कुनै पनि क्षेत्रमा महिला सहभागिताका लागि सम्बोधन गर्ने ।
यसरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको अर्थ महिलालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक र लैङ्गिक समानता प्राप्त गर्न सफल बनाउनु हो वा त्यस्तो अवस्था कायम गराउनु हो । तर, पितृसत्तात्मक सोचका कारण नेपालमा मात्र नभई संसारका धेरै देशमा महिलालाई दोस्रो दर्जाको नागरिक मानिन्छ र महिला अधिकारलाई पछाडि पारिन्छ । त्यसकारण संसारमा नारीवादी आन्दोलन शुरू भएको हो । यसरी नारीवादी आन्दोलनको शुरूआत भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय नारी दिवस घोषणा गरेर मनाउने चलन बस्यो ।
अन्तमा, प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिकरूपमा केही कमजोर अवश्य बनाएको छ र महीनैपिच्छे हुने शारीरिक समस्या, प्रजननको जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यताजस्ता कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सृजनशीलता अब्बल नै हुने गर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाई भेदभाव गर्नु र समान सहभागिता गराउन नाइँनास्ती गर्नु पुरुषको स्वार्थ र पितृसत्तात्मक सोचको उपज हो ।
महिला–पुरुष दुवै बराबर हुन्, लिङ्गकै आधारमा कोही ठूलो र सानो हुने होइन, समताका आधारमा दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । यस्तो सोचको विकासका लागिसमेत नारी दिवस मनाउनु सान्दर्भिक छ । यसरी मार्च ८ तारिख भनेको विश्वभरका महिलाहरूका लागि विशेष दिन हो । यस दिनमा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको विश्लेषण गरी विश्वव्यापीरूपमा मनाउने गरिन्छ । यो दिन महिला दिवसको रूपमा मात्र सीमित नरहोस् । यसले महिला समानता वा समावेशिताका लागि गति अघि बढाउने उत्सव ल्याउन आह्वान गरोस् । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीलाई धेरै शुभकामना !