बेइजिङ, २४ फागुन/एएफपी
सन् २०२४ को पहिलो दुई महीनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि सङ्घर्ष गरिरहेको बेला निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ ।

विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । वैदेशिक निर्यातले विनिर्माण क्षेत्रको ठूलो रोजगारीलाई सुरक्षा प्रदान गर्दछ ।

जनवरी र फेबु्रअरीमा निर्यात ७.१ प्रतिशतले बढेको छ । यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १.९ प्रतिशतको पूर्वानुमानलाई गलत साबित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ ।

चीन आप्mनो कडा शून्य–कोभिड उपायहरूको अन्त्य गर्दै सामान्य जनजीवनमा फर्केको गत वर्षको जनवरी–फेबु्रअरीको तुलनामा यो ठूलो वृद्धि हो ।

चीनमा वैदेशिक निर्यातमा लगातार छ महीनाको सङ्कुुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ ।

यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यसम्बन्धी चिन्ताले चिनियाँ सामानहरूको माग कम गरिरहेको छ ।

वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलामा बुधवार हालैको पुनरुत्थान स्वीकार गर्दै ‘सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको’ बताए ।

तर उनले मार्चमा यसमा गिरावट आउन सक्ने चेतावनी दिएका छन् । हालैका वर्षहरूमा वाशिङ्टनसँगको बढ्दो भूराजनीतिक तनावका कारण चीनको व्यापार प्रदर्शन प्रभावित बन्ने गरेको छ । यसले पश्चिमी फर्महरूलाई चीनमाथिको निर्भरता कम गर्न उत्प्रेरित गरेको छ ।

डिसेम्बरमा ०.२ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेबु्रअरीमा ३.५ प्रतिशतले बढेको छ ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले यो अवधिमा आयात २.० प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

यस अघि चीनले ११ महीनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

सन् २०२३ मा चीन र रूसबीचको व्यापार उच्च बिन्दुमा पुगे पनि पहिलो दुई महीनामा रूसबाट हुने आयात कम बलियो बनेको थियो ।

सन् २०२१ को अप्रिलयताको सबैभन्दा कमजोर प्रदर्शन गर्दै चीनका लागि रूसबाट हुने निर्यातमा ६.७ प्रतिशतले वृद्धि भएको छ । चीनको व्यापार अधिशेष पहिलो दुई महीनामा १२५.१ अर्ब अमेरिकी डलर रहेकोमा डिसेम्बरमा ७५.३ अर्ब डलर पुगेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here