ढाका, २१ फागुन/एएफपी
बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले प्रधानमन्त्रीले आफूलाई किन घृणा गर्छन् भन्ने ‘लाखौं डलरको प्रश्न’ भएको बताएका छन् । यद्यपि धेरै मानिसले प्रधानमन्त्रीले उनलाई राजनीतिक खतराको रूपमा हेरेको विश्वास गर्छन् ।

८३ वर्षीय युनुसलाई उनको अग्रणी लघुवित्त बैंकका साथ लाखौं मानिसलाई गरीबीबाट बाहिर निकालेको श्रेय दिइन्छ तर उनले लामो समयसम्म प्रधानमन्त्री शेख हसिनाको दुश्मनी कमाएका छन् ।

एउटा आपराधिक मुद्दामा उनलाई सजाय दिइएको केही सातापछि गत महीना उनका धेरै फर्मलाई ‘जबरजस्ती’ कब्जामा लिइएको थियो । उनका समर्थकहरूले उनलाई दिइएको सजाय राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

“उहाँ मलाई खुन चुसाहा भन्नुहुन्छ, मलाई सबै फोहोर शब्दले गाली गर्नुहुन्छ,” युनुसले हसिना स्वयंलाई सीधा आरोप लगाउन सावधानी अपनाउँदै भने, “उहाँ मलाई किन घृणा गर्नुहुन्छ ? केही मानिस यो राजनीतिक हो र उहाँ मलाई एक राजनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्नुहुन्छ भन्छन् ।”

जनवरीमा युनुस र उनले स्थापना गरेका कम्पनीहरूमध्ये एक ग्रामीण टेलिकमका तीन सहयोगीलाई श्रम कानूनको उल्लङ्घन गरेको आरोपमा छ महीनाका लागि कारागार सजाय सुनाइएको थियो । चारैजनाले ती आरोपहरूलाई अस्वीकार गरेका छन् र पुनरावेदन विचाराधीन रहेसम्म जमानत दिइएको छ ।

श्रम कानूनको उल्लङ्घन र कथित भ्रष्टाचारको आरोपमा एक सयभन्दा धेरै अन्य आरोपहरूको सामना गरिरहेका युनुसले आफ्ना कम्पनीहरू जबरजस्ती अधिग्रहण गर्नु देशमा लोकतन्त्रको अभाव रहेको प्रमाण भएको बताए । “ती मुद्दा कमजोर आधारमा बनाइएका हुन्,” गत साता राजधानी ढाकामा एक अन्तर्वार्तामा उनले भने, “म यसका लागि कुनै कानूनी आधार देख्दिनँ, सम्भवतः यो राजनीतिकरूपमा प्रेरित हो ।”

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान कि मुनसहित करीब १६० वैश्विक हस्तीहरूले गत वर्ष एक संयुक्तपत्र प्रकाशित गर्दै युनुनको ‘निरन्तर न्यायिक उत्पीडन’को निन्दा गरेका थिए । उनका एक सयभन्दा धेरै नोबेल पुरस्कार विजेता साथीसहित हस्ताक्षरकर्ताहरूले उनीहरूलाई ‘उहाँको सुरक्षा र स्वतन्त्रता’ को डर भएको बताएका छन् ।

विपक्षीहरूको व्यापक बहिष्कार र आफ्ना राजनीतिक विरोधीहरूविरुद्ध ठूलो कारबाईसँगै वास्तविक विपक्षी दलहरूविनाको मतदानमा ७६ वर्षीया हसिनाले जनवरीमा आफ्नो लगातार चौथो आमनिर्वाचन जितिन् ।

बङ्गलादेशी अदालतहरूमाथि आलोचकहरूले हसिना सरकारले लिएका फैसलालाई औपचारिकरूपमा अनुमोदन गरेको आरोप लगाएका छन् । “यो एक दलीय राज्य हो किनकि अन्य दलहरूको कुनै गणना हुँदैन, हामी आफ्नो विचार व्यक्त गर्न सक्तैनौं र मतदान केन्द्रमा गएर आफ्नो मताधिकारको प्रयोग गर्न सक्तैनौं,” आलोचकहरूले भनेका छन् ।

सन् २००७ मा युनुसले दशकौंदेखि हसिना र उनकी प्रतिद्वन्द्वी खालिदा जियाको प्रभुत्वमा रहेको राजनीतिमा तेस्रो विकल्प प्रस्तुत गर्नका लागि ‘नागोरिक शक्ति’ अर्थात् ‘नागरिक शक्ति’ आन्दोलन शुरू गरेका थिए । तर सत्ता सङ्घर्ष र झगडाका प्रतिद्वन्द्वीहरूले आफूलाई निराश बनाएपछि उनले आफू राजनीतिबाट पछि हटेको बताए ।

“म कुनै राजनीतिक व्यक्ति होइन, मैले त्यस्तो गर्दिनँ, त्यसैले मैले कुनै राजनीतिक दल खोल्न गइरहेको छैन भनेर तुरुन्त घोषणा गरें,” उनले भने । उनले लोकतान्त्रिक अधिकारहरूको अत्यावश्यकतामाथि जोड दिए ।

“यदि तपाईंसँग लोकतन्त्र छैन भने मानव अधिकार लोप हुन्छ,” उनले भने, “किनकि कसैले आपत्ति गर्दैन, तपाईंको रक्षा गर्ने कोही छैन, कानूनको शासन हराएको छ ।”

उनी आफ्ना कम्पनीहरू कब्जा गर्ने पछिल्लो प्रयास सरकारले गरेको थियो भन्नेबारे नबोल्न सतर्क छन् तर उनले आधिकारिक प्रतिक्रियाको पूर्ण अभाव रहेको बताए । “कानूनको शासन भए भवन, कार्यालयका विषयमा म प्रहरीकहाँ जाँदा प्रहरी तुरुन्तै आइपुग्छ किनकि उनीहरूको जिम्मेवारी मेरो रक्षा गर्नु हो,” उनले भने, “प्रहरीले यस्तो गरेको छैन, उनीहरू गए मात्र, उनीहरूले केही पनि गलती देखेनन्, यो कानूनको शासन होइन ।”

उनलाई कार्बन उत्सर्जन कम गर्ने, बेरोजगारी अन्त्य गर्ने र गरीबी घटाउने उद्देश्यको ‘थ्री जीरो’ योजनाको भविष्यमाथि डर छ । “मलाई कारागारमा हालियो भने मानिसहरूले नयाँ संसार बनाउनका लागि आफ्नो दिनरात खर्च गरिरहेको यो विश्वमा जारी सम्पूर्ण आन्दोलनका लागि ठूलो धक्का हुनेछ,” उनले भने ।

यद्यपि स्वीट्जरल्यान्ड वा अमेरिकामा स्वनिर्वासनमा काम जारी राख्ने प्रस्तावलाई अस्वीकार गर्दै युनुस बङ्गलादेशमैं बस्न कटिबद्ध छन् । “मलाई यहीं रहनुपर्छ र यहींबाट सबै शुरू भएको छ,” उनले भने, “यो म मात्र होइन, यसप्रति समर्पित मुलुकभर मेरो पूरा समूह छ, उनीहरूले सम्पूर्ण जीवन यसैमा बिताएका छन्, यदि म स्थानान्तरण भएँ भने सम्पूर्ण कुरा बिग्रिनेछ, यसले सम्पूर्ण कुरा नष्ट हुनेछ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here