गोदार (धनुषा), १८ चैत/रासस

      उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

      आइतवार बिहान मन्त्री महासेठले पुलको निरीक्षण गरेका थिए । उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिए । “धनुषा र सिराहाका जनताले यतिका दिन दुःख भोगे अब भोग्न दिन्नँ,” उनले भने, “करीब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनर्निर्माण समयमैं सम्पन्न गर्नुप¥यो ।” नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमैं सम्पन्न गर्ने नीति लिएको उनले बताए ।

      मन्त्री महासेठ आज जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गरेका थिए । उनले मधेसको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाए ।

      उनले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरेका छन् । बन्न बाँकी सडक र पुल समयमैं निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए । ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन ।

      कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भएपनि उद्घाटनको एक महीना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here