प्रस, वीरगंज, १७ फागुन/
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पत्रकार महासङ्घ बारामार्फत केन्द्रीय समितिलाई सात दिने अल्टिमेटम तथा स्मरणपत्र बुझाएको छ ।
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको गलत इतिहासलाई हालसम्म नसच्याएको भन्दै बुधवार फोनिज बाराका अध्यक्ष जियालाल चौधरी नेतृत्वको टोलीले पत्रकार महासङ्घ बाराका उपाध्यक्ष रामबाबू मेहता, सचिव अनिलकुमार गौरव र सहसचिव दुश्यन्त चौधरीलाई स्मरणपत्र बुझाएको छ ।
स्मरणपत्रमा वर्तमान नेपाल पत्रकार महासङ्घको जग तत्कालीन ‘नेपाल पत्रकार सङ्घ’ नै रहेको र पत्रकार सङ्घ गठन गरेर पत्रकारलाई पहिलोपटक सङ्गठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ रहेको बताइएको छ ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार सङ्घ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै अध्यक्षतामा तत्कालीन नेपाल पत्रकार सङ्घ पुनर्गठन भएको बताइएको छ ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार सङ्घ)को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ थिए भन्ने कुराको प्रमाणका रूपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर नेपाल पत्रकार महासङ्घले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासङ्घको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले गम्भीर विमति राखेको स्मरणपत्रमा उल्लेख छ ।
२०१२ चैत १६ गते नेपाल पत्रकार सङ्घ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएको र उनको योगदानको कदर गर्नुपर्ने स्मरणपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घले आफ्ना दस्तावेजहरूमा महासङ्घको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुन् भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापनपत्रमार्पmत माग गरिएको छ ।
अल्टिमेटम तथा स्मरणपत्र बुझाउने क्रममा फोनिज बाराका सल्लाहकार तथा अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ, फोनिज बाराका सचिव धीरेन्द्र पनुहर, विनीता चौधरी, जीतेन्द्र चौधरीलगायतको सहभागिता थियो ।