प्रस, पोखरिया, १६ फागुन/
पोखरिया नगरपालिकाको सहयोगमा ग्रामीण सीप तथा परामर्श केन्द्रद्वारा आयोजित दलित महिलाहरूलाई सरसफाइसम्बन्धी पाँच दिने तालीम बुधवार पोखरियामा समपन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख रूबी ठाकुरले पछिल्ला समयमा भत्ता र खाजाका लागि मात्र तालीम लिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले नपाले तालीम निश्चित उद्देश्यप्राप्तिका लागि आयोजना गर्दै आएको तर तालीमको प्रतिफल कम देखा परेको बताइन् । उनले भत्ता लिन र खाजाका लागि तालीममा सहभागिता बढेकोले तालीम लिएका व्यक्तिहरूबाट प्रतिफल नआएको बताइन् । उनले सरसफाइ तालीम लिएकाहरूलाई आफ्नो घर, छिमेक र वडामा सरसफाइ कसरी गरिन्छ भन्ने सन्देश प्रवाह गर्न सुझाइन् ।

पोखरिया नपाले मात्र सफाइ गरेर सम्भव नभएकोले यसमा समुदायको संलग्नताका लागि तालीम आयोजना गरिएको बताइन् । उनले सरसफाइ नहुँदा रोगको शिकार हुने र सम्पत्ति खर्च गर्नुपर्ने जस्ता समस्याहरूबाट छुटकारा पाउनका लागि पनि सरसफाइ आवश्यक भएको जिकिर गरिन् । पोखरिया नपामा बसोबास गर्ने दलितहरूमा सरसफाइसम्बन्धी समस्या विकराल रहेको भन्दै उनले सोही समुदायका महिलाहरूलाई लक्षित गरेर पाँच दिने सरसफाइबारेमा प्रशिक्षण दिएको र यसको प्रतिफल राम्रो आउनेमा आफू आशावादी रहेको बताइन् ।

प्रधानाध्यापक शङ्करप्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा नन्दलाल पटेल, रामदयाल पटेल, रमेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण भगवान साहले गरेका थिए । सहभागीहरूलाई प्रशिक्षकद्वय रामबाबू चौधरी र दामोदर यादवले सरसफाइ, सर्ने/नसर्ने रोग, महीनावारी, पोषणलगायतका बारे प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here