दिनेशकुमार मिश्र, वीरगंज, १६ फागुन/
दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कालिकामाई गाउँपालिकाले जितेको छ ।
बुधवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छिपहरमाई गापालाई ४४ रनअन्तरले पराजित गर्दै कालिकामाईले उपाधि जितेको आयोजक सखुवाप्रसौनी युवा समाजका सचिव सरोज पटेलले बताए ।
टस जितेर पहिला ब्याटिङ गरेको कालिकामाईले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४९ रन बनाएको थियो । १५० रनको विजयी लक्ष्य पाएको छिपहरमाई २० ओभरमा नौ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।
फाइनल खेलमा २१ बलमा २० रन बनाए र तीन ओभरमा १८ रन दिएर दुई विकेट लिएका कालिकामाईका मनु हजरा ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसैगरी, फाइनल खेलसम्म १३३ रन बनाएका कालिकामाईका सन्दीप पटेल उत्कृष्ट ब्याट्सम्यान, १४ विकेट लिएका गौरीशङ्कर यादव उत्कृष्ट बलर र हरिकिशोर पटेल उत्कृष्ट फिल्डर घोषित भएका थिए । प्रतियोगिता अवधिमा १३ विकेट लिएका र १३२ रन बनाएका छिपहरमाई गापाका अजय महतो ‘म्यान अफ दी सिरिज’ घोषित भए ।
गापाध्यक्ष यशवन्त यादवले विजयी कालिकामाईलाई रु ५१ हजार र उपविजयी छिपहरमाई गापालाई रु २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडाध्यक्ष मोजाबिल अन्सारी, अनिरुद्ध पटेल, सुनील पटेललगायतको सहभागिता थियो ।