• सञ्जय साह मित्र
स्नातक तहको वर्षमा निरन्तर परिवर्तन हुँदै आएको छ । पहिले दुई वर्षे स्नातक थियो । दुई वर्षे स्नातकलाई तीन वर्षे बनाइयो । तीन वर्षे स्नातकलाई चार वर्षे बनाइयो । अब फेरि चार वर्षे स्नातकलाई तीन वर्षे बनाउने व्यापक चर्चा छ । सामान्यतया विज्ञान, मानविकी, शिक्षा र वाणिज्य सङ्कायलाई नै चार वर्षेबाट तीन वर्षेमा ल्याइने चर्चा छ । अन्य सङ्कायबारे अहिले खासै चर्चा भइरहेको छैन । कानून, कृषि, वन तथा चिकित्साजस्ता प्राविधिक क्ष्Fेत्रबारे खासै चर्चा हुनुको कारण भने यी सङ्कायहरूमा विद्यार्थी भर्ना भइरहेका छन्, छोड्ने दर निकै कम छ । स्नातक गरिसकेपछि स्नातकोत्तरको कोटा कम भए पनि स्नातक तहकै अध्ययनले रोजगार पुगिरहेको छ । अधिकांश सङ्कायको विद्यार्थी उत्तीर्ण गरेर विदेशमा पनि राम्रै गरिरहेका छन् । उच्च शिक्षा अध्ययनमा गएका विद्यार्थीहरूले राम्रै नतीजा ल्याइरहेको र नेपालको पढाइको पनि राम्रै गुणस्तर रहेको पाइएको हुनुपर्छ वा सामान्यरूपमा विज्ञान, मानविकी, शिक्षा र वाणिज्य तथा कतिपय अवस्थामा कानूनलाई पनि तीन वर्षे बनाउँदा यसको प्रभाव अन्य प्राविधिक क्ष्Fेत्रमा पनि पर्ने हुन सक्छ । यो पनि दीर्घकालीन योजनामा रहेको हुनुपर्छ ।
अहिले शिक्षा क्षेत्रमा ज्यादै बहसको विषय बनेको त्रिभुवन विश्वविद्यालयले स्नातक तहलाई तीन वर्षे बनाउन लागेको समाचार नै रहेको छ । पहिले तीन वर्षे स्नातकलाई किन चार वर्षे बनाइयो ? त्यति बेला चर्चामा थियो कि तीन वर्षे स्नातकले कुनै पनि विषयमा पूर्ण ज्ञान पुगिरहेको छैन । तीन वर्षको ज्ञान अपूरो भइरहेको छ । चार वर्षे स्नातक सबैतिर चलेको छ । विदेशमा पनि चार वर्षे स्नातक नै रहेको छ । नेपालबाट तीन वर्षे स्नातक तह पार गरेर जाँदा अन्यत्र मान्यता पाइरहेको छैन रे ! स्नातक तहमा हुने विषयको पठनपाठन तथा पूर्णाङ्क अन्य विश्वविद्यालयसँग मिलाउन अनिवार्य हुन आएको छ रे १ चार वर्षे स्नातक भएपछि विश्व बजारमा नेपाली स्नातक बिक्ने हुन्छन्, प्रतिस्पर्धी हुन्छन्, उच्च गुणस्तरका हुन्छन् । नेपाली स्नातक सबैतिर सक्षम हुन सक्छन् । कुनै एक विषयमा उच्च मध्यमस्तरको गुणस्तरीय जनशक्ति तयार हुन्छ र अर्को विषयमा पनि जानकार बन्न पुग्छन् । चार वर्षे स्नातकले विद्यार्थीको वा परीक्षार्थीको परिपक्वताको सङ्केत गर्छ । सोझै विद्यालयबाट विश्वविद्यालयमा पुगेका विद्यार्थीमा त्यो तहको गुणवत्ता अर्थात् म्याचुरिटी आउन स्नातक चार वर्षे हुनु जरूरी छ । तीन वर्षे स्नातक हुँदा क्याम्पस, अध्यापक तथा विषयवस्तुलाई राम्ररी चिन्न नपाउँदै स्नातकोत्तर तहमा पुग्दछन् । स्नातकोत्तर तहको लागि स्नातक तह तयारी पनि हुने भएकोले यो अति जरूरी छ । यस प्रकारका आदि इत्यादि तर्क त्यति बेला दिइएको थियो जब स्नातक तहलाई तीन वर्षेबाट चार वर्षे बनाइएको थियो ।
किन गरिंदै छ त स्नातक फेरि तीन वर्षे ? चार वर्षे स्नातकमा पहिले गुणैगुण देखिएको थियो तर केही वर्षमैं अवगुण फेला पर्न थाल्यो ? सबैभन्दा ठूलो कुरा त जति विद्यार्थी पहिलो वर्षमा भर्ना हुन्छन्, त्यति चौथो वर्षसम्म परीक्षामा सहभागी हुँदैनन् । पहिलो वर्षबाटै विद्यार्थी घट्न शुरू हुन्छ र अन्तिम वर्षसम्म पुग्दा करीब आधा हुन जान्छ । बीचमैं पढाइ छाड्नेहरूको अनेक तर्कमध्ये पढाइमैं उमेर बित्ने भयो, बरु पढ्न छाडेर केही गर्नुपर्छ र केही गर्नका लागि पढाइ छाड्नुपर्छ । अनि विश्लेषण हुन्छ, अधिकृतभन्दा सुब्बा र खरिदारमा उम्मेदवार बढी हुने मुख्य कारण यही लामो कोर्स हुनु नै हो । यदि स्नातक तीन वर्षको हुने हो भने खरिदार र सुब्बाको तयारी गर्नेहरूमध्ये अधिकांश अधिकृतको तयारी गर्न थाल्छन् किनभने लगातार तीन वर्षमा स्नातक उत्तीर्ण गरी अधिकृतस्तरको जागिर तयारी गर्ने योग्यता र दक्षता हुन्छ । विद्यार्थी पहिलो वर्षमा भर्ना भएपछि तेस्रो वर्षसम्म पढिरहन्छन् । देशमा स्नातक सङ्ख्या वृद्धि हुन्छ । स्नातकको गुणस्तरमा पनि वृद्धि हुन्छ । जब धेरै विद्यार्थी पढ्छन् तब प्रतिस्पर्धा बढ्छ र राज्यले पनि गुणस्तरीय स्नातक पाउँछ । अहिले स्नातकोत्तर तहमा विद्यार्थीको जुन अभाव देखिएको छ, त्यो भइरहँदैन । स्नातक पढेपछि स्नातकोत्तर पढ्नेको सङ्ख्यामा पनि वृद्धि हुन्छ । विश्वविद्यालयमा पठनपाठनको माहोल बन्दछ, प्राज्ञिक थलोको रूपमा विकास भएर आउने छन् क्याम्पसहरू ।
वास्तवमा किन घटे त क्याम्पसमा विद्यार्थी ? चार वर्षे स्नातक लामो अवधिको हुन गयो भन्ने होइन । यसै कारणले विद्यार्थी घटेका होइनन् । अन्य कारणहरू पनि छन् । चार वर्ष पढेर विद्यार्थीले के गर्ने ? वास्तवमा रोजगारको अभाव भएको हो । कोरोनाको समयदेखि रोजगारको क्षेत्र साँघुरिएको छ । रोजगारको क्षेत्र साँघुरो हुँदा त्यसको असर शिक्षामा पनि परेको हो । गाउँमा गरीबी बढेको हो । गरीबी बढ्दा सोझै रोजगारतर्फ आकर्षित हुन्छन् । प्राविधिक पढेर तुरुन्त जागीर पाउने वा अन्यत्र काम पाउने प्रवृत्ति पनि केही हदसम्म देखिएको हो । अनि त्रिविको कमजोरी भनेको न परीक्षाको ठेगान, न रिजल्टकै । चार वर्षे स्नातक भनिए पनि समयमा परीक्षा र रिजल्ट नहुँदा पाँच वर्ष वा छ वर्षसम्म लाग्ने गरेको छ । चार वर्षमैं परीक्षा सकिएर नतीजा हातमा आए त हुन्थ्यो, तर त्रिविले नसकेको हो वा के हो ? कोही विदेशमा स्नातक पढेर यहाँ आउँदा सहपाठीलाई स्नातकोत्तरमैं पाउँछन् । अनि पढाइको मोह कम हुने नै भयो ।
अहिले स्नातकलाई तीन वर्षे ग¥यो र यसैगरी परीक्षा तथा नतिजा प्रणाली हुने हो भने खासै परिवर्तन नआउन सक्छ । तीन वर्षको तह पार गर्दा यदि पाँच वर्ष बित्छ भने तीन वर्षे स्नातकको पनि हविगत उही हुन्छ । तर विचारणीय पक्ष के छ भने स्नातक तहमा पढ्दापढ्दै विद्यार्थीले बीचमैं पढाइ छोड्नु तथा बा¥ह कक्ष्Fा उत्तीर्ण गरेका सबै स्नातक तहमा भर्ना नहुनुमा वैदेशिक अध्ययन तथा वैदेशिक रोजगार पनि प्रमुख कारण हो । अहिले कक्षा बा¥ह पढेर विदेश जाने सोच सामान्य बनेको छ । अभिभावक होस् कि विद्यार्थी, जसरी हुन्छ स्नातक पढ्न विदेश नै जानुपर्छ भन्ने सोच विकसित भएको छ । अनि देशको ठूलो रकम शिक्षाको नाममा विदेश पलायन भइरहेको छ । विदेशमा रोजगारको अवसर पनि हुने र काम गर्न पाउँदा राम्रो आम्दानी हुने पलायनवादी सोच पनि रहेको छ । अनि पढ्दापढ्दै धेरै विद्यार्थी यस्ता छन् जो कुनै न कुनै रोजगार, खेती वा श्रम गर्न विदेशी बजार पुग्छन् । स्नातक जति वर्षको भए पनि यस्तालाई मतलब हुँदैन । यति बेलासम्म काँधमा जिम्मेवारी पनि आउँछ, जसलाई पूरा नगरी हुँदैन । तराई–मधेसको सवालमा छात्राहरूको सन्दर्भमा विवाह भएर जाँदा पढाइ रोक्नु–छोड्नु वा निरन्तरता दिन नसक्नुलाई पनि अस्वाभाविक मान्न सकिंदैन । अर्को पनि पक्ष रहेको छ, स्नातक गर्नासाथ कुनै यस्तो क्षेत्र छैन कि उसले सहुलियतपूर्ण ऋण पाओस् वा प्रमाणपत्र बन्धकी राखेर रोजगारको कुनै तालीममा सहभागी हुन पाओस् ।
अहिलेको अवस्थामा विदेश पलायन र बेरोजगारी मुख्य समस्या हो । विदेश पलायन रोक्ने हो भने देशमा रोजगार सिर्जना अनिवार्य छ । यदि बेरोजगारी समस्या समाधान गर्ने हो भने सबैतिरबाट सोचेजस्तो परिणाम आउन सक्छ । बेरोजगारी जटिल समस्या हो । गरीबी पनि उस्तै जटिल समस्या हो । गरीबी, बेरोजगारी र विदेश पलायनजस्ता समस्याको समाधानको लागि त्रिविले आप्mनो गुणस्तरमा सुधार गर्नुपर्छ । परीक्षाको विश्वसनीयता बढाउनुपर्छ । परीक्षाको विश्वसनीयता भनेको तीन वर्षे स्नातक हुन्छ भने तीन वर्षमा विद्यार्थीको हातमा प्रमाणपत्र हुनुपर्छ । शैक्षिक सत्र तीन वर्षको भन्ने तर परीक्षा समयमा नगर्ने, समयमा नतीजा प्रकाशन नगर्ने तथा तन्काउँदै धकेल्दै पाँच वर्ष पु¥याउने हो भने के अर्थ रह्यो ? अध्यापनको पनि अनुगमन हुनुपर्छ जसले गर्दा क्याम्पसहरूले लापरवाही नगरून् । परीक्षाको लागि पर्याप्त तयारी गर्ने अवसर पाउनको लागि समयबद्ध क्यालेन्डरको पूर्णतया परिपालन गर्नैपर्छ ।