सत्तारूढ गठबन्धनका दुई प्रमुख घटक नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबीच अहिले फेरि मनमुटाव बढ्दै गएको छ र यसले गठबन्धनमा चिरा पर्ने र सरकार परिवर्तन हुने हल्ला शुरू भएको छ । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकाका एक थरीले एमालेसँग अघोषित सहकार्य गरेर गठबन्धनका उम्मेदवारलाई पराजित गराइ एमाले उम्मेदवार जिताएसँगै गठबन्धनका दुई घटकबीच मनमुटाव शुरू भएको छ । अहिले सोही राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते हुने निर्वाचनमा नेका र माओवादी केन्द्रले आआफ्ना उम्मेदवार उठाउने निर्णय गरेका छन् । हालै सम्पन्न नेकाको महासमिति बैठकमा माओवादी केन्द्रको आलोचना मात्र भएन महासचिव गगन थापासमेतले १० वर्षे युद्धको औचित्य नभएको भनी पेश गरेको प्रतिवेदन सर्वसम्मतले पारित ग-यो । नेकाले भनेको १० वर्षे युद्ध जनयुद्ध हो । त्यसैगरी, नेकाले आगामी आमनिर्वाचन अब कसैसँग सहकार्य नगरेर एक्लै लड्ने निर्णय गरेकोमा माओवादी केन्द्र रुष्ट भएको छ । माओवादी केन्द्रले पनि हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा नेकाको आलोचना गरेको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय पनि गरेको छ । यसैगरी, नेकाबाट गगन थापासमेतको समूहबाट माओवादी केन्द्रविरुद्ध कुराहरू राख्न थालिएपछि माओवादीले त्यसको काउन्टर दिनका लागि जनार्दन शर्मालाई अघि सारेको छ र शर्माले माओवादी केन्द्र चुनावमा एक्लै जाने र अपेक्षाकृत सिट जित्ने र राष्ट्रियसभा अध्यक्षका लागि कुनै पनि अवस्थामा सहकार्य नगर्ने जस्ता अभिव्यक्ति दिएका छन् । यसअघि नेकाका महासचिव थापाले मेची–महाकाली हुलाकी सडक यात्रा गर्दा जनमतको ११ प्रतिशत मात्र मत पाएको माओवादी केन्द्रलाई समर्थन गरेर उसको नेतृत्वमा सरकारमा बस्नुपरेको र सरकारले गरेका दोष र गुणको भागीदार बन्नुपरेको भनेर आपत्ति प्रकट गरेका थिए । गठबन्धनका यी ठूला दलहरूबीचको बढ्दो आरोप–प्रत्यारोपले गठबन्धन सरकारको आयुलाई लिएर आशङ्का गरिन थालिएको छ । जबकि जानकारहरू माओवादी अध्यक्ष प्रचण्ड र नेकाका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पदमा बार्गेनिङ भएर देउवा प्रधानमन्त्री बन्ने र माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको पद लिन सक्ने सम्भावना रहेको आकलन गरिएको छ ।
गठबन्धनबीच माओवादी केन्द्रले दुई वर्ष, नेकपा एसले एक वर्ष र नेकाका देउवाले दुई वर्ष प्रम भएर चलाउने भद्र सहमतिका कुराहरू पनि बाहिरिएका छन् । यसअलावा अहिले माओवादी केन्द्रले काङ्ग्रेसंँग सम्बन्ध चिसिंदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद अगाडि बढाएको र थुप्रैपटक गोप्य वार्ता भएको सञ्चारमाध्यमहरूमा समाचार आएका छन् । यसको आधिकारिक पुष्टि माओवादी केन्द्र र एमालेले भने गरिसकेका छैनन् । गठबन्धनमा २०७९ को आमनिर्वाचन लडेको माओवादी केन्द्रले प्रधानमन्त्री पदमा काङ्ग्रेसले दाबी गरेर अडिग बसेपछि गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेको थियो र प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसपछि सभामुख एमालेको लागि छोडेको माओवादी केन्द्रले राष्ट्रपतिमा भने एमालेलाई सघाउन नमान्दा सहकार्य तोडेर पुनः गठबन्धनमा समाहित भएको थियो । यस मानेमा फेरि पुरानो परिस्थिति बन्ने हो वा होइन भनी गाइँगुइँ शुरू भएको छ ।