प्रस, परवानीपुर, १५ फागुन/
वीरगंज उद्योग वाणिज्य सङ्घले मङ्गलवार पत्रकार सम्मेलन गरेको छ । आलु, प्याज व्यवसायीहरूको समस्या समाधानको लागि सङ्घको सभाहलमा पत्रकार सम्मेलन गरिएको थियो ।
आलु, प्याज व्यवसायीसँगै अन्य व्यवसायीहरूको सहभागिता रहेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले हरेक नेपालीको भान्सासँग प्रत्यक्ष सरोकार राख्ने आलु र प्याजमा सरकारले मूल्य अभिवृद्धि कर लगाउँदा सबै नेपाली आर्थिक मन्दीको बेलामा पनि आक्रान्त बनेको बताए । उनीहरूले नेपालमा उत्पादन हुने आलु नेपालीलाई चार महीना मात्र पुग्ने भएकोले आलु आयातमा
नेपाल सरकारले अनुदान र सुविधा दिनुपर्ने ठाउँमा मूअकर लगाएर थप महँगो बनाएको र त्यसको आर्थिक भार नेपालीमाथि परेको बताएका थिए ।
आलु, प्याजमा लगाइएको मूअकर हटाउनुपर्ने माग गर्दै व्यवसायीहरूले आलु, प्याज वैध बाटोबाट आयात गर्ने व्यवसायीहरू तस्करीबाट भित्र्याएको आलु, प्याजसँग प्रतिस्पर्धा गर्न नसक्दा घाटा बेहोरिरहेको बताएका थिए । मूअकर हटाएर आलु, प्याज व्यवसायलाई सहज बनाउन उनीहरूले माग गरेका थिए ।
आलु, प्याजमा मूअकर लागेपछि अहिले तरकारीको मूल्य पोहोर, परारभन्दा बढेको छ भने साइकल, मोटरसाइकल, अटो, जीप, भ्यानलगायत साधनबाट विभिन्न नाका हुँदै भारतीय आलु, प्याज ओसारपोसार हुने गरेको छ । यसले गर्दा सरकारलाई मासिक करोडौं रुपैयाँ राजस्व घाटा लागिरहेको छ भने प्रहरीको लागि सीमानाकामा नजराना उठाउन अवसर सिर्जना भएको छ ।
आलु, प्याज आयातमा नौ प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूअकर गरी २२ प्रतिशत कर बढ्दा तस्करीको आलु, प्याजसँग वैध नाकाबाट भित्र्याइएको आलु, प्याजले प्रतिस्पर्धा गर्न सकेको छैन । तस्करीको आलु प्रतिकिलो रु २५ मा बिक्री भइरहेको छ भने आयातित आलु प्रतिकिलो भारु १८ मूल्य तोकेर नौ प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूअकर तिरेर ल्याउनुपर्दा महँगो भएको छ ।
त्यसैगरी, प्याज पनि भन्सार नाकाबाट भित्र्याउँदा महँगो परेको छ । आलु, प्याजको भाउ महीनैपिच्छे थपघट भइरहँदा पनि नेपाल सरकारले भन्सार महसूल लामो समयसम्म एउटै दरमा राख्ने गर्दा व्यवसायीहरू मर्कामा परेका छन् ।
सङ्घका उपाध्यक्ष माधव राजपालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आलु, प्याज व्यवसायी मुन्ना रायलगायतको सहभागिता थियो ।