प्रस, परवानीपुर, १५ फागुन/
वीरगंज–२१ लिपनीबिर्तास्थित प्रोबायोटिक इन्डस्ट्रिज प्रालिका मजदूरहरू आन्दोलित भएका छन् । अखिल नेपाल औद्योगिक मजदूर सङ्घमा आबद्ध मजदूरहरूले फागुन १३ गतेदेखि मूलगेटमा धर्ना दिइरहेका छन् ।
छजना स्थायी मजदूरमध्ये दुईजनालाई अवकाश दिइएको, दुईजनालाई पर्सागढीको युनिटमा र दुईजना इटहरीको उद्योगमा सरुवा गरिएको छ । चारजना मजदूरको सरुवा कारबाई फिर्ता गर्नुपर्ने र अवकाश दिइएका दुईजनालाई पुनर्बहालीको माग गर्दै मजदूरहरूले उद्योगको मूलगेटमा ब्यानर लगाएर धर्ना दिइरहेका छन् ।
उद्योगका प्रमुख कार्यकारी निर्देशक ओमप्रकाश बैठा मूलगेटमा गई ब्यानर खोस्न खोज्दा मजदूर र व्यवस्थापन पक्षबीच झडप भएको थियो । सोही झडपमा परी अखिल नेपाल औद्योगिक मजदूर सङ्घ, पर्साका पूर्वअध्यक्ष उमेश पटेल घाइते भएका छन् भने उद्योगका सुरक्षा गार्ड सञ्जय पटेलको खुट्टामा चोट लागेको छ । हाल मजदूरहरू बिहान ६ देखि साँझ ६ बजेसम्म धर्ना दिइरहेका र आन्दोलनको स्वरूप कडा पार्दै लैजाने माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन, पर्साका इन्चार्ज गजाधर पटेलले बताए ।
विगत आठ वर्षदेखि मजदूर एवं मजदूर युनियनले व्यवस्थापन पक्षसमक्ष कुनै पनि मागदाबी पेश नगरेकाले मजदूरहरू शोषणमा पर्दै गएको इन्चार्ज पटेलले बताए । शोषणबाट जोगिन २० जना मजदूर मिलेर माओवादीनिकट अखिल नेपाल मजदूर सङ्घ गठन गरेर श्रम कार्यालयमा ट्रेड युनियन दर्ता गरेको थाहा पाएपछि व्यवस्थापन पक्षले कारबाईस्वरूप दुईजनालाई अवकाश र चारजनालाई सरुवा गरेको थियो ।
यस सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत बैठाले गाउँका केही नेताहरूको उक्साहटमा ट्रेड युनियन खोलेर उद्योगलाई प्रभावित पार्न खोजेको आरोप लगाए । उनले आर्थिक मन्दीको कारण मजदूरको सङ्ख्यामा कटौती गर्नुपरेको र केहीको व्यवहार सुधार्न सरुवा गरिएको बताए ।