नेशनल मेडिकल कलेज स्थापनाकालदेखि नै विवादमा पर्दै आएको हो । पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको कार्यकालमा मुस्लिम वेलफेयर सोसाइटीको नाममा मेडिकल कलेजको स्वीकृति प्रदान गरिएको थियो । मुस्लिम वेलफेयर सोसाइटीले नेशनल मेडिकल कलेजको नामबाट शिक्षण अस्पतालको सञ्चालन शुरू गरेको र सोको अध्यक्ष डा जैनुद्दीन अन्सारीलाई बनाएको थियो भने प्रबन्ध निर्देशक निजका भाइ बसरुद्दीन अन्सारी थिए ।

पछि सोसाइटीलाई धोका दिंदै अन्सारी दाजुभाइले सो कलेजलाई निजी पेवा बनाएका थिए । तत्कालीन अवस्थामा मुस्लिम वेलफेयर सोसाइटीले यो विषयलाई अदालतसम्म पु-याएको थियो । तर अदालतबाट जैनुद्दीन अन्सारीको पक्षमा फैसला भयो र अहिलेसम्म सोही अनुसार सञ्चालनमा आएको हो । २०५६ सालमा स्थापित नेशनल मेडिकल कलेजको २४ वर्षसम्म डा जैनुद्दीन अन्सारी अध्यक्ष रहे भने प्रबन्ध निर्देशकमा उनका भाइ बसरुद्दीन अन्सारी रहे । स्थापनाकालमा यो मेडिकल कलेज स्वामित्वलगायत विवादमा परिरह्यो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिने विषयमा पनि विवाद भएको थियो । शुरूमा कलेजसँग बिरामी अभाव थियो । नक्कली बिरामीहरू राखेर त्रिविविको अनुगमन टोलीलाई प्रभावित पार्ने काम पनि भएको थियो । कलेजमा हुने जायज, नाजायज सबै कार्यमा अध्यक्ष डा अन्सारीका भाइ प्रबन्ध निर्देशक बसरुद्दीनको प्रत्यक्ष, अप्रत्यक्ष भूमिका रहँदै आएको थियो ।

राजनीतिक ओतमा सत्ता परिवर्तनसँगै सहभागिता जनाउँदै आएका बसरुद्दीन पछिल्लो समयमा राजनीतिकरूपमा कलेजबाट प्रदान हुने चन्दा, सहयोग नियन्त्रणका लागि प्रत्यक्षरूपमा राजनीतिक आस्थावान् पनि बने र अहिले एमालेसँग आबद्ध छन् । विगतमा अन्यलाई जालझेल, छलकपट गरेका उनी दाजुबाट धोखा भएको भनी रोदन गरिरहेका छन् ।

दाजुले कलेजमा अंश नदिएको, आफ्ना छोराछोरी, ससुरालीलाई कलेजमा हाबी गराएर आफूलाई पदमुक्त गरेको आरोप लगाएका छन् । उनको रोदन सामाजिक हिसाबले ठीक, बेठीक जे भएपनि अहिले कागजीरूपमा भने अध्यक्ष डा जैनुद्दीन अन्सारी बलिया छन् । नेपालीमा उखान छ– लिखतमको अगाडि बकतम काम लाग्दैन अर्थात् लिखतले कानूनी मान्य राख्छ र भनाइले राख्दैन ।

नेशनल मेडिकल कलेजका पूर्वप्रबन्धक बसरुद्दीन अन्सारीले यो कुरा बुझेकाले उनी कानूनीरूपले अगाडि बढेका छैनन् र सिर्जित विवादलाई घरका चारजना दाजुभाइ बसेर मिलाउनुपर्ने कुरामा जोड दिइरहेका छन् । कलेजमा डा जैनुद्दीनको ९० प्रतिशत शेयर छ, त्यसमा उनले छोराछोरीहरूलाई आधा शेयर बाँडफाँड गरेर आधा शेयर राखेका छन् ।

दाजुभाइ मात्र भएको सञ्चालक समिति परिवर्तन गरेर भाइलाई पदमुक्त गरी छोराछोरीलाई राखेका छन् । रजिस्ट्रारको कार्यालयबाट यसको अनुमोदन गरेर कानूनी आधार आफ्नो हकमा पारेका छन् । यथावस्थामा भाइ बसरुद्दीनको १० प्रतिशत शेयर दाबीबाहेक कुनै हैसियत रहने अवस्था बाँकी छाडेका छैनन् ।

त्यसैले बसरुद्दीन कानूनीरूपमा परास्त भएका छन् तर उनले अहिलेसम्म आफ्नो अधिकार कायम रहेको जनाउन कार्यकक्षमा डेरा जमाएर बसेका छन् । विभिन्न समस्या सिर्जना गरेर विवाद चर्काउने र दाजुलाई थर्काउन कुनै कसर बाँकी राखेका छैनन् । प्रायःजसो सबैका घरमा हुने यस विवादमा झगडा घरबाहिर आएकोले यसमा सबैको चियोचासो बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here