प्रस, वीरगंज, १३ फागुन/
वीरगंजमा रहेको नेशनल मेडिकल कलेजको विवाद अहिले बाहिर आएको छ । केही महीनादेखि सञ्चालक समितिका अध्यक्ष डा जैनुद्दीन अन्सारी र निजका भाइ प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीबीचको खटपट अहिले बाहिरिने क्रममा छ ।
यसै क्रममा आइतवार मेडिकल कलेजका डा शाहनवाज अन्सारी र डा नुसरतजहाँ अन्सारीले पत्रकार सम्मेलन गरी नयाँ सञ्चालक समितिको निर्णयबाट आफू प्रबन्ध निर्देशक भएको डा शाहनवाज अन्सारीले दाबी गरे । उनी कलेजका संस्थापक अध्यक्ष तथा हालका पनि अध्यक्ष डा जैनुद्दीन अन्सारीका छोरा हुन् ।
पत्रकार सम्मेलनमा नयाँ प्रबन्ध निर्देशक डा अन्सारीले स्थापनाकालमा २०५६ सालमा बुबाको नाममा ९० प्रतिशत र काका बसरूद्दीन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको र हाल सो शेयरमध्ये बुबाले आपूmहरूको नाममा स्थानान्तरण गरेको बताए । ९० प्रतिशत शेयरबाट आप्mनो नाममा १५ प्रतिशत र नुसरतजहाँ अन्सारी, निखत यास्मिन, इशरतजहाँको नाममा १०–१० प्रतिशत शेयर कायम भएको र सोही अनुसार फागुन ४ गतेदेखि लागू हुनेगरी कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ संशोधनसहित तीन सदस्यीय सञ्चालक समिति गठन भएको बताए ।
डा जैनुद्दीन अन्सारी अध्यक्ष, आफू प्रबन्ध सञ्चालक र नुसरतजहाँ अन्सारी सञ्चालक रहेको तीन सदस्यीय कमिटी बनेको र सोबाहेक अन्य कुरा फगत हल्ला भएको बताए । उनले काका बसरूद्दीन अध्यक्ष भएको र प्रबन्ध निर्देशक पनि कायम रहेको भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कुरामा सत्यता नभएको दाबी गरे । उनले डा जैनुद्दीन अध्यक्ष रहेको नेशनल मेडिकल कलेज वैधानिकरूपमा सञ्चालन भइरहेको बताएका थिए ।
काकाले पछिल्लो चरणमा धेरै अनियमितता गरेको र बुबाले सोबारे काकालाई सम्झाउने–बुझाउने काम गर्दा पनि नमानेपछि निजलाई पदीय जिम्मेवारीबाट हटाएको र यही झोंकमा काकाले बुबालाई ज्यान मार्नेसम्मको धम्की दिएको उनले बताए ।
काकाको धम्कीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजूरी गरेको र सो उजूरी अहिले विचाराधीन अवस्थामा रहेको नयाँ प्रबन्ध सञ्चालक डा अन्सारीले बताए ।
नेशनल मेडिकल कलेजमा विगत तीन महीनादेखि दाजुभाइबीच अंश झगडा भइरहेको छ । यद्यपि दुवैबीच कानूनीरूपमा अंशबन्डा भने भइसकेको छ । बसरूद्दीनलाई कलेजबाट पदमुक्त गरिएपछि पनि उनी अहिलेसम्म आफ्नै कार्यालयमा डटेर बसेका छन् ।
यस अघि नेपाल मेडिकल कलेजबाट पनि बसरूद्दीनलाई एक महीना अघि पदमुक्त गरिएको थियो । सो पदमा पनि शेयरको आधारमा डा जैनुद्दीन अन्सारीले कार्यभार आफ्नो हातमा लिएका थिए ।