टोकियो, १३ फागुन/एएफपी
जापानले भूकम्पले क्षति पु-याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियाँ किशिदाले भूकम्पले क्षति पु-याएका क्षेत्रको पुनःनिर्माणमा उक्त रकम खर्च गर्ने बताएका छन् । उनले शनिवार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायता घोषणा गरेका हुन् ।

सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको इशिकावा क्षेत्रको केही भाग तहसनहस बनाएको थियो ।

भूकम्पका कारण धेरै भवन र सडक भत्केका थिए भने विशाल आगलागी समेत भएको थियो ।

भूकम्पमा परी अहिलेसम्म २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजारभन्दा बढी मानिस शिविर र होटलमा शरण लिइरहेका छन् । इशिकावाका केही भागमा अझै पनि खानेपानीको सेवा सहज हुन नसकेको बताइएको छ ।

“अस्थायी आश्रयस्थलमा बस्ने अवस्थामा सुधार भइरहेको छ, तर म यो कुरा मनमा राख्नेछु कि वास्तविकता पहिलेजस्तै कठिन छ”–किशिदाले सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पत्रकारहरूसँग भने ।

“निरीक्षणले थप सहयोग प्रदान गर्ने दिशामा काम गर्ने सरकारको दृढतालाई पुनः पुष्टि गरेको छ”– उनले भने ।

किशिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करीब १०० अर्ब येन (६६ करोड अमेरिकी डलर) को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए ।

यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल २६० अर्ब येन (१.७ अर्ब डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ ।

किशिदाले भने–“नवीनतम कोषहरू अनुदान प्रणालीको वित्त पोषणका लागि डिजाइन गरिएको छ जसले युवा र बालबालिका पालन गर्ने परिवारहरूलाई उनीहरूको ध्वस्त घर पुनर्निर्माण गर्न मदत गर्दछ ।”

प्रधानमन्त्री किशिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका लागि भइरहेको प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भूकम्पका कारण इशिकावा र दुर्ई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको सरकारी अनुमान छ ।

तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा यो अनुमान निकै कम हो ।

त्यस विपत्तिमा लगभग १८ हजार ५०० मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए । यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ती निम्त्यायो, जुन चेर्नाेबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here