दिनेशकुमार मिश्र, वीरगंज, ११ फागुन/
जगरनाथपुर गाउँपालिका–५ स्थित नेराप्रावि, चिलझप्टीमा अभिभावकहरूले बिहीवार तालाबन्दी गरेका छन् । विद्यालयमा प्रधानाध्यापक, शिक्षक समयमा नआएर विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको भन्दै अभिभावकहरूले तालाबन्दी गरेका हुन् ।बालविकासदेखि कक्षा ५ सम्म अध्यापन हुने सो विद्यालयमा गुणस्तरीय अध्ययन नहुने गरेको अभिभावकहरूले गुनासो गरेका छन् । विद्यालयमा समयमा प्रअ, शिक्षक नआउने, खाजा वितरण नहुनेलगायतका समस्या देखाउँदै अभिभावकहरूले तालाबन्दी गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य दिनानाथ गिरीले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका जगरनाथपुर गाउँपालिका–५ का अध्यक्ष बिहारी महतो नुनियाले आफूलाई यसबारे जानकारी नभएको बताए । उनले विद्यालयको समस्याबारे बैठक बसाइ समाधान खोजिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले पालिकामा मदर्सा र सामुदायिक विद्यालय ३१ वटा रहेकाले समस्या क्रमशः सुधार हुँदै जाने बताए । उनले राम्रो अध्यापन हुने विद्यालयलाई प्रोत्साहन गर्ने गापाको नीति रहेको बताए । उनले नेराप्रावि, चिलझप्टीमा प्रअ र शिक्षक समयमा नआउनेबारे स्पष्टीकरण सोध्ने बताए ।
अभिभावकका अनुसार सो विद्यालयमा १४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विभिन्न बहाना बनाएर कहिले प्रअ र कहिले शिक्ष्Fक समयमा आउने गरेका छैनन् ।
यसबारेमा प्रधानाध्यापक रामबहादुर यादवले मोटरसाइकल बिग्रेको कारण समयमा विद्यालय आउन नसकेको बताए । उनले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास भइरहेको बताए ।
प्रअ यादवका अनुसार यस विद्यालयमा स्थायी शिक्षक एक, करार एक, बाल शिक्षिका एक र पियन एकजना गरी चारजना रहेको र एकजना शिक्षकको अभाव भएकोले पठनपाठनमा समस्या हुने गरेको बताए ।
प्रअ यादवले अभिभावकहरूको आरोपप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँदै अभिभावकहरू सचेत भएकामा आफूलाई खुशी लागेको बताए । अभिभावकहरूले आफ्ना बालबालिकाको अध्यापनप्रति खोजीनिती गर्नु जायज भएको र अबदेखि अभिभावकहरूको भावनाबमोजिम अध्यापन हुने बताए ।