प्रस, वीरगंज, ९ फागुन/
धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा सन्त रामपालको ३७औं बोध दिवस र कबीर परमेश्वरजीको ५०६औं निर्वाण दिवसको उपलक्ष्यमा फागुन ५ देखि ८ गतेसम्म आयोजित चार दिवसीय खुला पाठ एवं विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको छ । फागुन ५ गते अमर ग्रन्थको खुला पाठ गरी कार्यक्रम शुरू भएकोमा फागुन ८ गते परमात्माको भोग आरती गरी सम्पन्न भएको हो । कार्यक्रमको बेला अनुयायीहरूद्वारा ७२ पिन्ट रक्तदान तथा १० नवजोडीको विना कुनै आडम्बर, तामझामरहित सरलरूपमा दाइजोरहित विवाह गराइएको थियो । बहुसङ्ख्यामा भइरहेको दाइजोमुक्त विवाहले अब समाज दाइजोमुक्त हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । हजारौं मानिसको सहभागिता रहेको कार्यक्रम प्रहरी प्रशासनको सहयोगविना सम्पन्न भएको आयोजकले जनाएको छ ।

सन्त रामपालले आफ्ना गुरु स्वामी रामदेवानन्दबाट सन् १९८८ फरवरी १७ मा मन्त्रदीक्षा प्राप्त गरेको दिनको स्मृतिमा बोध दिवस र सन् १५१८ मा कबीर परमात्माले भारतको उत्तर प्रदेशको मगहर भन्ने स्थानमा सशरीर सतलोक प्रस्थान गरेको दिनको स्मृतिमा कबीर परमेश्वरको निर्वाण दिवस मनाइन्छ । काशीमा जस्तोसुकै पापी मरे पनि स्वर्ग जाने र मगहरमा जस्तोसुकै पुण्यकर्मी प्राणी मरे पनि नर्क जाने भनेर तथाकथित पण्डितहरूद्वारा फैलाइएको भ्रम निवारण गर्न र वेदमा वर्णित पूर्ण परमात्माको सशरीर निजधाम फर्किने वाक्यलाई प्रमाणित गर्न ५०६ वर्ष पहिले कबीरले यो लीला गरेको अनुयायीहरूले बताएका छन् ।

कार्यक्रममा नेपाल, भारत, भुटानलगायत अन्य विभिन्न देशहरूबाट श्रद्धालुहरूको सहभागिता थियो । नेपाललगायत विश्वभरका ११ वटा ठूलाठूला आश्रममा यो कार्यक्रम भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आध्यात्मिक प्रदर्शनी पनि लगाइएको थियो, जसमा काशी तथा मगहरमा भएका ऐतिहासिक घटनाहरूलाई हूबहू चित्रहरूका माध्यमले देखाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here