• सञ्जय साह मित्र

किसानहरूको हातमा नगद पु-याउने बालीमा उखुको भूमिका निकै महत्वपूर्ण छ । हुनत उखु वर्षे बाली हो । एक वर्षमा उत्पादन हुने र किसानको हातमा नगद आउने उखुको मूल्य समयमैं किसानले पाउने हो भने किसानको हातमा नगद आउँछ । नगद आउने अन्य बाली नभएका त होइनन्, तर सजिलोगरी र उत्पादनको आधारमा राम्रो आम्दानी दिने बालीको उखु नै हो । अहिले सर्लाहीमा त उखु खेती मध्यम किसिमले भइरहेको छ । रौतहटमा निकै घटेको छ । बारा र पर्सामा त झन् घटेको छ । उखु खेती किसानले गर्दा कम भएको होइन । किसानले उखु खेती निकै बाध्य भएरकम गरेका हुन् । उखु उत्पादन गरी बेच्ने तर पैसा नपाउने वा एक वर्ष लगाएर उत्पादन गरेको उखुको मूल्य उखु बेचेको दुई वर्षसम्म पनि नपाउने अवस्था थियो । यसले गर्दा उखुमा गरिएको लगानी तीन वर्षसम्म फस्ने अवस्था थियो । उखु उत्पादनमा लगानी गर्दाको खर्च र दुई वा तीन वर्षपछि पाउने मूल्यले किसानको गर्जो टार्न सकेको थिएन । उखुलाई त पहिलेदेखि नै नगदे बाली भनिंदै आएको थियो जुन विगतमा किसानका लागि उधारो बालीको रूपमा परिणत भइसकेको थियो । किसानले पैसा भुक्तानी पाउन निकै मुश्किल पर्दै गयो । अनि सोझो किसानले पैसा पाउन पनि सोर्सको आवश्यकता परेको थियो । सोर्सको आवश्यकता मात्र नभएर कतिपय अवस्थामा त आफ्नो पैसा भुक्तानी गराइदिए ज्याला दिनुपर्लासमेत भन्न थालेका थिए, धाउँदाधाउँदा नपाएर । अझै ऋण लिएर खेती गरेका किसानले उखुको मूल्य भुक्तानी पाउँदासम्म कति ब्याज तिर्नुपथ्र्यो, ठेगान थिएन । उखु किसानले खेती गरेको त फाइदाका लागि न हो, तर खेती घाटाको लागि भइरहेको थियो । अनि घाटाको खेती गर्नुपर्दा किसानमा निराशा आउनु स्वाभाविक हो, निराश भए किसान । जब किसान निराश हुन्छ, खेती कम हुन्छ नै ।

किसानको मात्रै दोष होइन, कतिपय अवस्थामा उद्योगमा राजनीति पनि नभएको होइन । चिनी उद्योगमा राजनीति बढी हुँदा यसको असर उद्योगपतिमा परेको हुनुपर्छ । उद्योगमा कार्यरत केही मजदूर नेता तथा पकड राख्ने कर्मचारीहरू समयमा कार्यालय नजाने, तोकिएको जिम्मेवारी पूरा नगर्ने, कामभन्दा बढी समय आपूmलाई जुन काममा फाइदा हुन्छ त्यतातिर ध्यान दिने गरेका थिए । अझ नयाँ वर्ष, विश्वकर्मा पूजा, लक्ष्मीपूजा, होलीजस्ता पर्वहरूमा पूजा गर्नको लागि चन्दा माग्ने गरेका थिए । पार्टीको कुनै कार्यक्रम होस् चाहे मजदूर सङ्गठनको कुनै कार्यक्रम होस्, सबैको लागि चन्दा लिने काम उद्योगबाट हुन्थ्यो । यसरी पनि भन्न सकिन्छ कि उद्योगकै चन्दाको भरमा कतिपय मजदूर नेता कार्यक्रम आयोजना गर्थे, उद्योगकै पैसाले मजदूर नेताहरू गाडी चढ्थे वा पेट्रोल किन्थे । अझ कतिपय अवस्थामा त उद्योगमा आपूm नेता भएको देखाउन वा आप्mनो वर्चस्व छ भनेर प्रमाणित गर्न निहुँ खोजेर उद्योगको काममा भाँजो हाल्थे । अहिले जब उद्योगहरू बन्द छन् ती मजदूर नेता तथा किसानको उखुमा राजनीति गर्न खोज्नेहरूको ध्यान जान सकेको छैन । उद्योग जसरी पनि चल्नुपर्छ भन्ने सोच तिनै मजदूर नेतामा यदि हुँदो हो त उद्योग बन्द हुने वातावरण नै बन्ने थिएन । यतिसम्म पनि अहिले देखिएको छ उद्योग बन्द भएपछि धेरै मजदूर नेताको अवस्था खराब भएको छ । झन् कोरोना कालपछि गाउँघरमा जसरी आर्थिक समस्या देखिएको छ, त्यसले पुराना मजदूर नेतालाई निकै प्रभावित पारेको छ । पुराना मजदूर नेताहरूले बरु परिश्रम गर्ने बानी नबिगारेको भए हुन्थ्यो, भन्न थालेका छन् । जे होस्, अहिले धेरैमा पछुतोको भाव प्रस्टिन थालेको छ ।

चिनी उद्योगको आवश्यकता देशका लागि पनि बढेको छ । किसानहरूले उखु उत्पादन गर्न खोजिरहेका छन् किनभने नगद चाहिएको छ । किसानको हातमा जति धेरै नगद पुग्न सक्यो, देश उति धेरै सम्पन्न हुन पाउँछ र जति धेरै उखु उत्पादन भयो उति धेरै चिनी उत्पादन हुन्छ । देशमा चिनी उत्पादन हुँदा स्वाभाविकरूपमा देशलाई फाइदा हुन्छ । सबैले भोगिरहेको सत्य हो, जब देशलाई करीबकरीब पुग्ने मात्रामा चिनीको उत्पादन हुन्थ्यो तब देशमा चिनीको मूल्य कति थियो र अहिले जब तुलनात्मक रूपमा चिनी उद्योगको सङ्ख्या कम भई चिनीको उत्पादन घटेको छ तब चिनीको मूल्य र आपूर्तिमा हुने उतारचढाव कस्तो छ ? मुख्य चाडपर्वको समयमा चिनीको मूल्य ह्वात्तै बढ्ने गरेको पाइएको छ । चिनीको अप्रत्याशितरूपले बढेको वा अस्वाभाविकरूपमा बढी पैसा तिर्नुपरेको चुकचुक नागरिकलाई नभइदेओस् । अझ सबैलाई लागोस् कि चिनी गुलियो छ र यसको मूल्य पनि गुलियो छ । चिनी किन्ने मनमा अमिलो स्वाद नआओस् ।

अहिले चिनी महँगो भएको किसानहरूले पनि महसुस गरिरहेका छन् । चिनी सबैलाई चाहिन्छ र चिनीको आवश्यकता किसानले मात्र पूरा गर्न सक्दैन । किसानविना चिनी उत्पादन सम्भव छैन । यदि केही वर्षको वस्तुगत अवस्था हेर्ने हो भने देशमा नयाँ चिनी मिल स्थापना वा सञ्चालन भइरहेको देखिंदैन । पुराना चिनी मिल पनि बन्द भइरहेका छन् । उदाहरणका लागि वीरगंजको चिनी कारखाना वर्षौंदेखि बन्द छ । रौतहटको पनि एउटा चिनी मिल केही वर्षदेखि बन्द छ । सर्लाहीको एउटा चिनी कारखाना यस वर्ष अहिलेसम्म सञ्चालन हुन सकेको छैन । यसरी नयाँ चिनी कारखाना नखुल्ने र पुराना बन्द हुँदै जाने हो भने चिनी उद्योगमा कार्यरत कर्मचारी, मजदूर बेरोजगारी त हुने नै भए, चिनी उद्योगसित सम्बन्धित अन्य रोजगार पनि गुम्ने डर हुन्छ । चिनी मिल सञ्चालनमा रहँदा किसानको हातमा हुने अर्थ प्रवाहले चिनी उद्योग आसपासको क्षेत्रमा आर्थिक गतिविधि बढ्ने मात्र होइन, समृद्धि पनि आउँछ । आखिर समृद्धि नै सबैको चाहना हो ।

अहिले फेरि चिनी कारखानाहरूले पुनर्जीवन पाउने कुरा सुनिन थालेको छ । सरकारको तर्फबाट चिनी मिलहरूको समस्या बुझ्ने काम स्थलगतरूपमा भएको छ । चिनी मिलको समस्या बुझेर तत्काल आएको प्रतिक्रियाले चिनी मिल पुनः सञ्चालनमा आउन सकिने देखिएको छ । सञ्चार माध्यमहरूले यही कुरा सार्वजनिक गरेका छन् । चिनी मिलले पुनर्जीवन पाउन सक्ने अवस्था रहेको र सरकारले यसका लागि पहल गर्ने संसदीय टोलीको तत्कालको प्रतिक्रिया रहेको पाइएको छ । संसदीय टोलीको जुन किसिमको हाउभाउ र बोलीको शैली रहेको देखिन्थ्यो, त्यसबाट चिनी मिलप्रति गम्भीर मात्र होइन, सञ्चालनमा दृढताको भाव मात्र होइन, विश्वास पनि झल्केको देखिन्छ । भनिन्छ, ‘बडी लंग्वेज’ले धेरै कुरा बताउँछ । वास्तवमा टोलीको बडी लंग्वेजले निकै सकारात्मक भाव प्रस्तुत गरेको देखिन्थ्यो । टोली निकट रहने सबैलाई यति विश्वास अवश्य बोध भएको छ कि अब चिनी मिलले पुनर्जीवन पाउँछ । तर फेरि प्रश्न उठ्छ – कसरी र कहिलेदेखि ?

चिनीमिलको सञ्चालन यथाशीघ्र गर्ने हो भने पनि अर्को वर्षदेखि मात्र सम्भव हुन्छ । यदि दिनरात काम गरेर सञ्चालन गर्ने हो भने अर्को वर्षदेखि सञ्चालनमा आउन सक्ने सम्भावना रहँदा किसानहरूलाई पनि जानकारी हुनैपर्दछ । यदि अर्को वर्षदेखि उद्योग सञ्चालन गर्ने हो भने तत्काल जानकारी सञ्चार नगरे अर्को वर्ष उखुको अभाव हुन सक्छ । अनि उखुको अभावको अर्थ हो कि उद्योग घाटामा जान सक्छ । उद्योग सञ्चालनमा ल्याउँदा कर्मचारी, मजदूरमा खर्च हुन्छ र अन्य सञ्चालन खर्च बढ्छ । उद्योगलाई नाफामा लैजान सकिएन भने लगानीको तरीकामाथि पनि प्रश्न उठ्न थाल्छ । यसर्थ उद्योग सञ्चालनको लागि वातावरण बनाउन शुरू गरिहाल्नुपर्छ । तर हाम्रो देशमा कुनै पनि काम गर्न प्रक्रियागत समय धेरै लाग्छ । प्रक्रियामैं धेरै समय खर्च गर्दा लगानीको वातावरण ढिलो हुन्छ अनि उत्पादनमा जति छिटो प्रभाव पर्नुपर्ने हो, पर्दैन । अर्थतन्त्रमा पनि यसको प्रभाव त्यसैगरी देखिन्छ । तर टोलीको भ्रमणले जगाएको आशा सार्थक होस् भन्ने चाहना आम किसानको पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here