दिनेशकुमार मिश्र, वीरगंज, ८ फागुन/
सखूवाप्रसौनी गाउँपालिकामा जारी दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत मङ्गलवार पनि दुईवटा खेल सम्पन्न भए । पहिलो खेलमा सखुवाप्रसौनी गापा विजयी भएको छ । धोबिनी गापालाई छ विकेटअन्तरले सखुवाप्रसौनीले जीत हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको धोबिनीले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो । ९७ रनको लक्ष्य पाएको सखुवाप्रसौनीले १० ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । चार ओभरमा २७ रन दिएर पाँच विकेटसहित २२ रन बनाएका सखुवाप्रसौनीका उपेन्द्र राम ‘म्यान अफ दी म्याच’ घोषित भए ।
दोस्रो खेलमा छिपहरमाई गापाले सखुवाप्रसौनीको देउरवाना टीमलाई ६० रनअन्तरले पराजित गरेको थियो । टस जितेर छिपहरमाई गापाले ब्याटिङ गर्दै निर्धारित १६ ओभरको खेलमा सात विकेट गुमाएर १३२ रन बनाएको थियो । प्रतिउत्तरमा देउरवाना १२ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा सीमित भयो । चार ओभरमा १७ रन दिएर पाँच विकेट लिएका छिपहरमाईका गौरीशङ्कर यादव ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलि बुधवार पनि दुई खेल हुने आयोजक सखुवाप्रसौनी युवा समाजका सचिव सरोज पटेलले बताए । उनले पहिलो खेल पोखरिया नपा र जगरनाथपुर गापा र दोस्रो खेल बहुदरमाई नपा र सखुवाप्रसौनीको देउरवाना टीमबीच हुने सचिव पटेलले जानकारी गराए ।