प्रस, सिम्रौनगढ, ५ फागुन/
सिम्रौनगढ नगरपालिकाको कङ्काली मन्दिर प्राङ्गणमा शनिवार माछापालक कृषकहरूको भेला सम्पन्न भएको छ।
मत्स्य व्यवसाय सङ्घ, बाराका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा भएको भेलाले माछापालक कृषकहरूमाथि आइपरेका समस्याहरूका बारेमा छलफल गरेको थियो। छलफलमा सिम्रौनगढस्थित नेपाल विद्युत् प्राधिकरणको ज्यादती, माछाबजारमा भाउ व्यवस्थापन, मत्स्य व्यवसायीलाई कृषि मिटर दिनुपर्ने जस्ता विषयमा छलफल भएको थियो।
भेलाले माछापालक किसान नागेन्द्र साहको अध्यक्षतामा ३१ सदस्यीय माछापालक किसान र विद्युत् प्राधिकरण परामर्श समिति गठन गरेको छ। समितिमा अवधेश सहनी, शिवमङ्गलप्रसाद कुशवाहा, कुन्दन कुशवाहा, दिनदयाल मुखिया, अशोक सहनी र बृजकिशोर यादवलगायत सदस्यहरू छन्।