प्रस, ठोरी, ५ फागुन/
समाजमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी सहकारिताको भावनाअनुरूप फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यले पिछडिएका वर्गलाई व्यावसायिक आयअर्जनको माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिक पछौटेपनबाट माथि उकास्न तथा राष्ट्रिय निकुञ्ज वरिपरि रहेका बासिन्दाहरूको संलग्नतामा संरक्षित क्षेत्रको दिगो संरक्षण गर्ने उद्देश्यले सञ्चालित तथा निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिद्वारा संरक्षित सृजना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १४औं साधारणसभा सम्पन्न भएको छ।
ठोरी–२ स्थित नेराप्रावि, हनुमाननगरमा संस्थाका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो। साधारणसभामा गापाध्यक्ष श्रेष्ठले सहकारी नाफामूलकभन्दा पनि सेवामूलक हुनुपर्ने बताए। सहकारीले विभिन्न सीपमूलक तालीम सञ्चालन गरी शेयर सदस्यहरूलाई आयमूलक बनाउनुपर्ने बताउँदै उनले यस सहकारी संस्थासँग ठोरी गाउँपालिका हातेमालो गर्न इच्छुक रहेको बताए। २०६५ सालमा ३२ जना शेयर सदस्यको रु ३२ सयबाट शुरू भएको यस सहकारीले अहिले रु चार करोडभन्दा माथिको कारोबार गरिरहेको संस्थाका व्यवस्थापक जगेन्द्र पौडेलले जानकारी दिए। आफ्नै भवनमा संस्था सञ्चालन गर्दै आएको यस संस्थामा करीब आठ सय शेयर सदस्य रहेको व्यवस्थापक पौडेलले जानकारी दिए। त्यस्तै, ९२ जना बाल बचतकर्तासमेत रहेको उनले बताए।
साधारणसभामा आव २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव लवकुमार आचार्यले प्रस्तुत गरेका थिए। त्यस्तै, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामबहादुर विष्ट र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक धर्मेन्द्रकुमार कलवारले प्रस्तुत गरेका थिए। त्यस्तै, संस्थाको वार्षिक गतिविधि प्रतिवेदन संस्थाका व्यवस्थापक पौडेलले प्रस्तुत गरेका थिए।
कार्यक्रममा ठोरी–२ का अध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतलगायतका शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा ठोरीमा विभिन्न क्षेत्रमा महत्र्वपूर्ण योगदान पु–याएका समाजसेवी आसबहादुर गुरुङ र निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो। संस्थाको ऋण उपसमितिका संयोजक कमल विक्रम तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाकी सदस्य अस्मिता अधिकारीले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।