प्रस, वीरगंज, ४ फागुन/
युनेस्कोको सहयोग र लोकसञ्चारको आयोजनामा शुक्रवारदेखि वीरगंजमा महिला पत्रकारहरूको लागि १२ दिने पत्रकारिता तालीम शुरू भएको छ ।

लोकसञ्चारका अध्यक्ष रमेशरञ्जन झाले पत्रकारितामा मधेसी महिला पत्रकारहरूको सक्रियता बढाउनको लागि तालीम आयोजना गरिएको बताए । उनले नेपालमा महिलाहरू पछाडि परेका र त्यसमा पनि मधेसका महिलाहरू हरेक क्षेत्रमा पिछडिएका कारण महिला पत्रकारहरूको सक्रियता बढाउन तालीम आयोजना गरिएको बताए ।

पत्रकारिताको माध्यमबाट मधेसका सीमान्तकृत महिलाहरूको आवाज बुलन्द हुन सकोस् भन्ने तालीमको उद्देश्य रहेको उनले प्रस्ट्याए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले यो क्ष्Fेत्रमा मधेसी महिला पत्रकारहरूको उपस्थिति न्यून भएका कारण समग्र मधेसी महिलाहरूको आवाज मुखरित हुन नसकेको बताए । उनले मधेसी महिला पत्रकारहरूको सक्रियता बढाउनुपर्ने आवश्यकतामा जोड दिए । अध्यक्ष तिवारीले यो क्षेत्रमा लागेर राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा महिला पत्रकारहरूले पहिचान बनाए पनि त्यो सङ्ख्या आशाप्रद नभएको बताए ।

तालीम लिएका महिला पत्रकारहरूले पत्रकारिता क्षेत्रमा काम गरेको खण्डमा परिवर्तन सम्भव हुने उनले दाबी गरे ।

तालीममा पर्सा, बारा, रौतहट, सर्लाही गरी चार जिल्लाका २० जना महिला पत्रकारको सहभागिता छ । तालीम उद्घाटनसत्रको पत्रकार माधुरी महतो र सलमा खातुनले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here