प्रस, निजगढ, १९ पुस/
निजगढ नगरपालिका सिंगौलस्थित धन्सार खोलाबाट अवैधरूपमा चोरी, तस्करी गरी थुपारिएको ढुङ्गा जफत गरिएको छ । डिभिजन वन कार्यालय, बारा मातहतको निजगढ सबडिभिजन वन कार्यालय, भमराले वन क्षेत्रमा थुपारिएका ढुङ्गालाई जफत गरेको हो ।

सिंगौलस्थित ब्रह्मबाबा सामुदायिक वन समूहको क्षेत्रमा ७२८.६७ घनमिटर र धन्सार खोलाबगरमा एक हजार ६६२ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा विनाइजाजत थुपारिएको पाइएकोले जफत गरिएको डिवका, बाराले जनाएको छ । कानूनी प्रक्रिया पूरा नगरी र वन कार्यालयको आदेशविना वन क्षेत्रमा अवैधरूपमा नदीजन्य पदार्थ थुपारिएकाले यस अवैध कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुर्मीले जानकारी दिए ।

थुपारिएका ढुङ्गा करीब सात सय ट्याक्टरभन्दा बढी रहेकोले यसको हालको बजार मूल्य १० लाखभन्दा बढी रहेको छ । डिवका, बाराको निर्देशनमा निजगढ सबडिभिजन वन कार्यालयले निजगढ नपाको धन्सार खोला, बगर खोलाबाट अवैधरूपमा उत्खनन, सङ्कलन गरी ओसारपोसारमा संलग्न ट्याक्टरहरूलाई जफत गर्ने कार्यलाई तीव्रता दिएपछि ढुङ्गा चोरी तस्करी गर्ने गिरोहले धन्सार खोलाको पूर्वी सिमानामा समेत ढुङ्गा थुपारेको पाइएकोले उक्त ढुङ्गा पनि जफत गरेको निजगढ सबडिभिजन वन कार्यालयका वन अधिकृत रघुनाथ दासले बताए ।

वन अधिकृत दास, इलाका प्रहरी कार्यालय, निजगढका प्रनि घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन निजगढ बेसका सशस्त्र प्रनि त्रिलोचन पोखरेलसहितको टोलीले जफत गरेको अवैध ढुङ्गालाई निजगढ नपा वडा नं १ का अध्यक्ष मङ्गल लोप्चनको रोहबरमा कागजात तयार गरी सुरक्षाको जिम्मा लगाएको डिवका, बाराले जनाएको छ ।

निजगढ नपाले खोला ठेक्का लगाउन ढिलाइ गर्दा धन्सार, बकैया, बगर खोलालगायत अन्य खोलाबाट दैनिक १० लाख मूल्यभन्दा बढीको नदीजन्य पदार्थ चोरी तस्करी हुने गरेको छ । अवैधरूपमा जम्मा गरिएका नदीजन्य पदार्थको स्टक प्रमाणित गरी आन्तरिक राजस्वको नाममा दैनिक सात लाख रुपैयाँभन्दा बढी रकम निजगढ नपाले गैरकानूनीरूपमा असुल गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here