पर्सा र बारामा अहिले जङ्गली जनावरहरूका कारण मानवीय क्षतिका साथै पशुचौपाया र भौतिक संरचनाहरूको पनि क्षति बढ्दो छ । यी दुई जिल्ला उदाहरण मात्र हुन् । अहिले जङ्गल क्षेत्रसँग जोडिएका बस्तीहरूमा जङ्गली जनावरहरूको आक्रमण बढेको छ । कतै बाघ, कतै हात्तीले मानवीय र भौतिक क्षति पु¥याउँदैछन् । यसैगरी, जङ्गली घोडगधा, हरिण, बँदेल, मयुरहरूले बाली क्षति पारेका समाचारहरू प्रकाशनमा आइरहेका छन् । पोखरा महानगरपालिकामा अहिले बाँदरले आतङ्क मच्चाएको छ । त्यहाँका नगरप्रमुखले महानगरवासीलाई रूख काट्न सल्लाह दिएका छन् । न रूख रहन्छ, न बाँदर रहन्छ अनि बाँदरै नभएपछि आतङ्क पनि हराउँछ भन्ने सोच नगरप्रमुखको हुन सक्छ । तर रूख काट्दैमा समस्याको समाधान हुन्छ भन्ने पनि छैन । यदि बाँदरहरू रूख मात्रको सहारामा बाँच्थे भने पशुपतिनाथ मन्दिर वरपर र सिङ्गो काठमाडौं महानगरमा बाँदर देखा नै पर्ने थिएनन् । पोखराको बाँदर आतङ्क छाडौं, पर्सा र बारामा जङ्गली जनावरको आतङ्कलाई एकतर्फी भन्न मिल्दैन । जङ्गली जनावरहरूको बासस्थानमा मानवबस्ती बसालिएपछि जनावरहरू नजीकको मानवबस्तीमा प्रवेश गर्ने, अनि त्यहाँका भौतिक संरचनामा आक्रमण गर्ने, पशुचौपायालाई क्षति पु¥याउने, अन्नभण्डारण, बालीमा नोक्सानी गर्ने कार्य गरेका हुन् । जङ्गल विनाश गरी बस्ती बसेका स्थानमा जङ्गली जनावरहरूको उपद्रो बढेको हो ।
पर्साको ठोरी, जगरनाथपुर, सखुवाप्रसौनी, जीराभवानी, पटेर्वासुगौली, पर्सागढी र वीरगंज महानगरका केही वडाहरूलाई लिन सकिन्छ । शुरूमा जङ्गल क्षेत्र रहेका यी स्थानहरूमा मानवबस्ती विस्तार गरियो, मानवबस्ती विस्तार भएसँगै जङ्गल विनाश गरियो, जङ्गली जनावरहरूको बासस्थान खुम्चिंदै गयो । त्यस्तै, बारामा फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा हजारौंको सङ्ख्यामा जङ्गलका रूखहरू मासिए । त्यहाँका जनावरहरूको बासस्थान खोसियो, अनि ती जनावरहरू नजीकको मानवबस्तीमा जाने नै भए । अहिले यस्तै भएको हो । जङ्गलबाट जनावरहरू निस्केर मानवबस्तीमा क्षति नपु¥याओस् भनेर चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जले जङ्गल क्षेत्रसँग जोडिएका बस्तीहरूमा तारबारको व्यवस्था गरेको छ । तारबार गरिएको क्षेत्रमा जङ्गली जनावरहरूको उपद्रो त्यति सुन्न पाइएको छैन । बारामा पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएकोपछि वन्यजन्तुको चहलपहल बढेर मानवबस्तीमा क्षति पुग्न थालेपछि निजगढको एउटा वन उपभोक्ता समितिले आफ्नो क्षेत्रको वनमा तारबार लगाएको छ । यसले वन्यजन्तुबाट मानिस र मानिसबाट वन्यजन्तुहरू पनि सुरक्षित भएका छन् ।
पर्साको पटेर्वासुगौली र बाराको निजगढमा अहिले बाघ आतङ्क बढेको छ । पछिल्लो बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको छ । सङ्ख्या बढ्नुको मतलब उनीहरूको चहलपहल पनि बढ्नु हो । वनविनाशले जङ्गल क्षेत्रमा आहारविहारमा कमी आएपछि जनावरहरू जङ्गल बाहिर निस्कने गरेका हुन् । जनावरहरू जङ्गलमैं बसून् भन्ने चाहना राख्ने हो भने उनीहरूको आहारविहार जङ्गलमैं सुरक्षित राख्ने व्यवस्था मिलाउनुपर्छ । अर्थात् वनजङ्गलको विनाश रोकिनुप-यो । जङ्गल विनाश जारी रहेकोले वन्यजन्तुको उपद्रो पनि बढिरहेको
छ ।