बलिराम शुक्ला, बिरूवागुठी २५ पुस/
पर्सागढी नगरपालिका–३ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको बुधवार १७औं साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगरनाथप्रसाद तिवारीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि सांसद अजयकुमार चौरसियाले उद्घाटन गरेका थिए । उनले देशको आर्थिक अवस्था जर्जर भइरहेको अवस्थामा पर्सागढीको सहकारीले प्रगति गरेको सुन्दा खुशी लागेको बताए । उनले संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेलले प्रदेशको कृषि मन्त्रालयबाट डेयरीको उन्नतिको लागि सक्दो पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक, उपप्रमुख पूजा चौधरी, पूर्वप्रमुख लोकनारायण यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थामा ४५८ सेयर सदस्य रहेको र १४ जनालाई रोजगार दिएको डेयरी उद्योगले जनाएको छ । औरैया, छतवनटाँडी, मनवा, औराहा, रङ्गपुरमा शाखा विस्तार गरी तीन हजार लिटर दूध सङ्कलन गरेर सो दूध वीरगंज, सिमरा, हेटौंडालगायत स्थानमा बिक्री वितरण गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रममा लेखापाल प्रेमराज तिवारीले लेखा प्रतिवेदन आयव्यय प्रस्तुत गर्दै ९ करोड ३६ लाखको कारोबार गरी ५० लाख १८ हजार नाफा कमाएको बताए । संस्थाका कोषाध्यक्ष भूमा अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गरेका थिए ।