चीसो बढेसँगै पर्सा जिल्लाका प्रायः सबैजसो पालिकाहरूले सामुदायिक विद्यालयहरूको पठनपाठन आगामी माघ २ गतेसम्मका लागि बन्द गरेका छन् । बर्सेनि जाडो र गर्मी याममा सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित हुने गरेका छन् । भौतिक संरचनाको कमी र मौसम अनुसारको कक्षा कोठाको व्यवस्थापन नभएको कारण विद्यालयहरू बन्द गर्नुको विकल्प हुन्न । अहिले शिक्षालाई पालिकास्तरमा गाभिएको छ । यस अघि जिल्ला शिक्षा कार्यालयले सामुदायिक र संस्थागत विद्यालयहरूको शैक्षिक नियमन गर्ने, भौतिक संरचना बनाउने, शिक्षकहरूको सरुवा–बढुवा गर्ने, पुस्तक वितरण, छात्रवृत्ति प्रदानलगायत शिक्षासम्बन्धी सबै कार्य गर्दै आएको थियो । तर ०७४ सालदेखि यी सबै अधिकार पालिकाहरूमा प्रत्योजन गरिएको छ । पालिकाहरूले आप्mनो क्षेत्रमा शिक्षा सम्बन्धित सबैखाले गतिविधि गर्दै आएको छ । यो अवधिमा शिक्षामा केही सुधार देखिएका छन् भने विकृतिहरू पनि मौलाएको छ । सामुदायिक विद्यालयहरूलाई भौतिक रूपमा सबल बनाउनका लागि अहिले स्थानीय तहलाई प्रदेश र सङ्घ सरकारको पनि सहयोग जारी छ । तर पनि पर्सा जिल्लाका विद्यालयहरू अहिलेसम्म पूर्ण भौतिक–सुविधासम्पन्न हुन सकेका छैनन् । कतिपय विद्यालयहरूमा कोचिएर विद्यार्थीहरू पढ्नुपर्ने बाध्यता कायम छ ।

विद्यालयहरूको पठनपाठन गुणस्तरीय बनाउने विषयमा केही पालिकाहरूले कम विद्यार्थी भएको, भौतिक संरचना कमजोर रहेका विद्यालयहरूलाई अर्काे विद्यालयमा स्थानान्तरण गर्ने कार्य पनि भएका छन् । केही विद्यालयहरूमा विद्यार्थी बढी, शिक्षक कम, केहीमा शिक्षक बढी त विद्यार्थी कमको अवस्था थियो । स्थानीय निकायमा शिक्षा गाभिएसँगै यस्ता खाले समस्याहरूको केही हदसम्म समाधान भएको छ तर समग्रमा शिक्षा क्षेत्रको विकास हुन सकेको छैन । महानगरको सवालमा अहिले करीब तीन सय शिक्षकको आवश्यकता छ । विभिन्न अध्ययन, प्रतिवेदनबाट यो सङ्ख्यामा शिक्षक आवश्यक भएको ठहरसहित अर्थ मन्त्रालयमा शिक्षक भर्नाको लागि आवश्यक पहल गर्न उनीहरूको तलब सुविधाको व्यवस्था गर्न सुझाव पुगेका छन्, तर अर्थ अभाव देखाएर मन्त्रालयले शिक्षक नियुक्तिको वातावरण बनाउनै सकेको छैन । महानगरले यो समस्याको समाधानका लागि आधा तलबमा स्वयंसेवक शिक्षकहरू भर्ना गरेर समस्या समाधान गर्ने प्रयत्न गरेको थियो, तर महानगर स्वयं आर्थिक समस्यामा परेपछि अहिले पौने दुई सयको हाराहारीमा स्वयंसेवक शिक्षकहरू हटाएको अवस्था छ । स्वयंसेवक शिक्षकहरू यत्रो ठूलो परिणाममा हटेपछि महानगरको शैक्षिक अवस्था कस्तो भएको होला सहज अनुमान लगाउन सकिन्छ । महानगरको यो अवस्था छ भने अन्य पालिकाहरूको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ ।

यसै पनि शिक्षकहरूमाथि नपढाउने गरेको आरोप लाग्दै आएको छ । जति सङ्ख्यामा शिक्षकहरू छन् उनीहरू पढाउँदैनन् । शिक्षक दरबन्दी अनुसार नभएका र आन्तरिक स्रोत तथा स्वयंसेवक शिक्षकहरू भर्ना गर्दा पनि आफन्त अनि रकमी चलखेलले गर्दा राम्रा शिक्षक बहाल हुने अवस्था छैन । शिक्षा क्षेत्रमा यो पुरानो रोग हो । पहुँच हुनेहरूका आफन्तले विद्यालय भरिएका छन् । यथावस्थामा मौसम अनुसार भौतिक संरचनाको विकास भएर सबैखाले मौसममा पढाइ हुने वातावरण बनोस् भन्ने चाहना मात्र राख्न सकिन्छ । तर चाहना त चाहना न हो, पूरा कहिले हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here