ओमप्रकाश चौधरी, सेढवा, २४ पुस/
पर्साका ग्रामीण भेगका किसानहरू अहिले नगदेबाली तोरी उखेल्ने कार्य शुरू गरेका छन् ।
यस क्षेत्रमा विशेषगरी ठोरी गाउँपालिका अन्तर्गत सुवर्णपुर, क्षत्रीलाइन, गडुवालाइन, बथेटोल, बाघमोर्चा, मालीबस्ती, गोपीबस्ती, विजयबस्ती, मेलचोक, विशालचोक, निर्मलबस्ती, जीराभवानी गाँउपालिकाका शान्तिनगर, भवानीपुर, काठमाडौंटोलका किसान तोरी उखेल्न व्यस्त छन् । यस क्षेत्रमा जिल्लाको सबभन्दा बढी क्षेत्रफलमा तोरी बाली लगाइएको कारण ज्यामी अभाव भएको विजयबस्तीका रामबहादुर श्रेष्ठले जनाएका छन् । साथै यस क्षेत्रका अधिकांश बासिन्दा विदेश तथा स्वदेशका विभिन्न स्थानमा बसोवास गर्ने भएकाले ज्यामीको अभाव भएको श्रेष्ठले बताए । ज्यामीको अभाव पूर्तिका लागि भारतीय गाउँ धुमाटाड, जसौली, बेहरी, रामपुर, थुकहालगायतका महिला तथा पुरुषले काम गर्दै आएको श्रेष्ठले बताए । यसबाहेक जीराभवानी गाउँपालिकाका महादेवपट्टी, पकडीटोला, जगतिया, सेढवा, नौकाटोलाका ज्यामीहरू पनि काम गर्न आउने गरेका श्रेष्ठले बताए ।
ठोरी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्दन भैया थारूका अनुसार यस वर्ष १,५३० हेक्टर जमीनमा तोरी खेती भएको बताए । गत वर्ष ठोरीमा मात्र १,८२० हेक्टर जमीनमा तोरी लगाइएको थियो ।
गत वर्ष तोरीको मूल्य आकाशिएको भए पनि यस पाली तोरीको मूल्य घट्ने संभावना रहेको किसानहरूले जनाएका छन् । गत वर्ष तोरी १३ हजार रुपियाँ प्रति क्विन्टलका दरमा बिक्री भएको थियो । यसपटक तोरीको तेलको बजार मूल्य कम भएको र हालसम्म व्यापारीहरू समेत नआएका किसानहरूले गुनासो गरे । तर यसपटक तोरी राम्रो भएकोले उत्पादन राम्रो हुने किसानहरूले बताएका छन् ।
महिला ज्यामीको ज्याला दर बढ्यो
महिला ज्यामीको ज्याला दर बढेको छ । ज्यामी अभाव भएपछि यस वर्षदेखि ज्याला दर बढेर ५०० पुगेको छ । यस अघि पुरुषको ज्याला यथावत् रहे पनि महिला ज्यामीको ज्याला शत प्रतिशत बढेर ५०० पुगेको छ । यसका साथै दिनभरिमा एकपटक खाजा खुवाउने चलन पनि बसेको छ ।