टोकियो, २४ पुस/एएफपी
जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलवारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थित नोटो प्रायःद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।

भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावजूद भग्नावशेष हटाउन र फसेका ३५ सय मानिससम्म पुग्ने प्रयास गरिरहेका छन् ।

इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ ।

अधिकारीहरूले सोमवार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर ३२३ पुगेको थियो । जसमा धेरैजसो अति प्रभावित क्षेत्र वाजिमाका मानिस रहेको बुझिएको छ ।

प्रभावित क्षेत्रमा हिउँ परेकोले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमवारसम्म झन्डै ३० हजार मानिस ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् ।

उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । झन्डै ६० हजार घरधुरी खानेपानीविहीन छ भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।

मङ्गलवारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियाँे किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् ।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेषगरी नोटोजस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करीब १८,५०० मानिसको मृत्यु भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here