देशमा यता केही समयदेखि देखिन थालेको परिदृश्यले खरानीभित्र भुङ्ग्रो सल्बलाइरहेको आभास दिन थालेको छ । अलिकति खरानी पन्छिनुपर्छ, अलिकति हावाले छुनुपर्छ, नपत्याउने भुङ्ग्रो दावानल बन्न पुग्छ । देशमा अहिले जुन वातावरणले सह पाइरहेको छ, त्यो देख्दा भुङ्ग्रोलाई कति छिटो हुन्छ, ज्वाज्वल्यमान बनाउने चेष्टा भइरहेको भान भइरहेको छ । काठमाडौंको बालकुमारीकाण्ड, बर्दिवासकाण्ड, सिम्रौनगढकाण्ड र हालै देखिएको बरहथवाकाण्ड भुङ्ग्रोलाई हावा दिने कोशिश हो । अग्रगमनकारी शक्ति मौन छ, राजनीतिक दलहरू र तिनका नेताको चातुर्यले सबैलाई अवाक् बनाइदिएको छ, प्रतिगामी शक्ति भने ऊर्जा सङ्कलन गर्न लागेको छ । यसैमा तेस्रो शक्ति उदय भइरहेको छ, जुन प्रतिगामी नभए तापनि, असन्तुष्टिको अग्नि बाल्न तत्पर देखिन्छ । विवेचना गर्न नसकिने, समीक्षाइतर अवस्था देशमा बिस्तारै फिंजिदै गएको छ । वर्तमान अवस्थालाई कुनै पक्षधर भएर विश्लेषण गर्न सकिन्छ, निष्पक्ष विवेचना गा¥हो छ । असमञ्जताको यो वातावरण छिटै छाँटिएन भने यसबाट दुस्सह परिस्थिति उत्पन्न हुनु अवश्यम्भावी देखिएको छ ।

देश, समाज र जनतालाई समग्रमा निर्देशित गर्ने राजनीति हो । नेपालको राजनीतिले अहिले कूटनीतिको आवरण धारण गरेको छ । कूटनीति, अर्थात् मनमा केही, बोलीमा केही र काममा केही । मन–वचन र कर्मबीच तादाम्य नभई महती उद्देश्यका लागि गरिने नैतिक वा अनैतिक काम भइरहेको देखिंदै छ । यसमा अहिलेको गठबन्धन सरासर फोहरी राजनीतिको रूपमा देखिएको छ । राजनीतिमा, शासन सञ्चालनको सन्दर्भमा गठबन्धन वर्जित होइन, तर गठबन्धन समान विचार, सिद्धान्तबीच हुनु ग्राह्य हुन्छ, असमान, विरोध–धर्मी विचारधाराबीच गठबन्धनले सार्वजनिन स्वार्थलाई लत्याएर, व्यक्तिको मात्र स्वार्थलाई प्रश्रय दिन्छ । त्यसैले आज अति उग्र वामपन्थ र अति उदार लोकतन्त्रबीच एका भएको छ । वास्तवमा यो एका वामपन्थ र लोकतन्त्रबीचको एका होइन, तत्तत् राजनीतिक दललाई नेतृत्व दिने व्यक्तिहरूबीचको एका हो । कुनै राष्ट्रिय वा सार्वजनिक हित खातिर नभएर नितान्त व्यक्तिगत अहमन्यता र स्वार्थजनित एका हो । यस्तो गठबन्धनले राजनीतिलाई कहिले पनि सङ्लो बन्न दिंदैन । यसले राजनीतिलाई धमिल्याइ मात्र राख्छ, किनकि धमिलो पानीमा नै माछा मार्न सजिलो हुन्छ । सत्ता नै सर्वोपरि भएपछि नैतिकताको ह्रास हुन्छ, नैतिकता ह्रास भएपछि अग्रगमन त के पश्चगमनभन्दा पनि निकृष्ट हुन्छ ।

लोकतन्त्र जीवन्त रहन सत्ता जहिले पनि नयाँनयाँ नेतृत्व निर्माणमा लाग्नुपर्छ । पुरानो नेतृत्वको निरन्तरता त अधिनायकवादको लक्षण हो । किन नेपालमा गठबन्धनको यो सूत्र अँगालियो ? यद्यपि राजनीतिमा सत्ता नभए, विचारधारा प्रभावशाली बन्दैन भनिन्छ, तर विचारधारालाई तिलाञ्जलि दिएर सत्ता पाउनुको अर्थ नै के ? सत्ताप्राप्ति अहम् पोषणको साधन त होइन, यो त आप्mनो सिद्धान्त अनुसार राष्ट्रलाई अभ्युदयमुखी बनाउने साधन पो हो । तर भइरहेको छ उल्टो । देशमा विनाश निम्तियोस्, अव्यवस्था र अराजकता फैलियोस्, राजनीति धमिलो बनोस्, रनभुल्ल जनता तिनै शासकका शरण परून् भन्ने मनसायबाहेक यस अवस्थालाई के संज्ञा दिन सकिन्छ ? यस्तो त विवेकशील कुनै पनि प्राणीले चाहँदैन नितान्त स्वार्थलिप्त, जुगुप्सित, स्वार्थन्धताले अभिशप्त मानिस मात्र भुङ्ग्रोको कृत्यको आग्रही हुन्छ र त्यसलाई आप्mनो अभीष्टपूर्तिको साधन बनाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here