प्रस, रौतहट, १९ पुस/
जिल्ला प्रहरी कार्यालय रौतहटले व्यापारीलाई धम्काएर लाखौं रकम माग गरेको आरोपमा एकजनालाई पक्राउ गरेको जनाएको छ।
फतुवाविजयपुर नगरपालिका–८ का ३४ वर्षीय भैयाराम साहलाई पक्राउ गरी बिहीवार प्रहरीले सार्वजनिक गरेको हो।
साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेको जिप्रका, रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्। उनका अनुसार रकम नदिए साहले ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको र यसबारे अनुसन्धान भइरहेको बताएकी छन्।