नेपालमा रोजगारको अवसर नभएको होइन तर यहाँ अवसरको खोजी नै नगरी विदेशिने क्रम बढेको छ । विदेशिनुको कारण यहाँको भन्दा आकर्षक कमाइ नै हो । तर कमाइसँगै जोखिमपूर्ण कामहरू गर्नुपर्ने र त्यसबाट मृत्यु पनि हुने गरेकोलाई अहिले नेपाली युवा समाजले बुझ्न सकेका छैनन् । दैनिक १५ सयको हाराहारीमा नेपाली युवा जनशक्ति बाहिरिंदै छ । सरकारले रोजगारको अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारका लागि बाहिरिनु नपर्ने जस्ता सदाबहार घोषणा गर्दै आएको छ । तर जति राम्रो घोषणा गर्छ, त्यत्ति नै राम्रो काम नगर्दा नेपालमा रोजगारको अवसर नदेखेर विदेशिने युवाहरूको सङ्ख्या बढ्दो छ । कुनै बेला हिमाल र पहाडबाट रोजगारको अवसर नपाएर मुगलान (भारत) जानेक्रम बढ्दो थियो । त्यसपछि तेस्रो मुलुक जाने क्रम बढ्यो । अहिले अमेरिका, युरोप, अस्ट्रेलिया, खाडी मुलुकहरू जानेक्रम बढेको छ । विदेशमा दक्ष जनशक्तिहरू सम्मानजनकरूपमा रोजगारमा संलग्न छन् भने अदक्ष जनशक्ति भने पीडा, यातनापूर्ण जीवनशैली बाँचिरहेका छन् ।

चोरबाटोबाट विदेशिनेहरूको सङ्ख्या झनै ठूलो छ । रूसले युक्रेनमाथि आक्रमण शुरू गरेपछि नेपाली युवाहरू रूसी सेनामा अनधिकृतरूपमा भर्ना भएका र अहिलेसम्म करीब एक दर्जन नेपालीले ज्यान गुमाएको कुरा प्रकाशमा आएको छ । विभिन्न प्रलोभन दिएर नेपाली युवाहरूलाई रूसी सेनामा भर्ना गरिंदैछ तर सरकारले यसरी अनधिकृतरूपमा रूसी सेनामा भर्ना रोक्न सकेको छैन । करीब दुई सय बढी नेपाली युवा युद्धका क्रममा रूसी सेनामा भर्ना भएका छन् । युद्धको बखत सेनामा भर्ना हुनुको अर्थ ती युवाहरूले नबुझेका होइनन् तर नेपालमा अवसर छैन, विदेशमा पनि अवसरबाट वञ्चित युवाहरू आफ्नो प्राणको आहुति दिएर पनि आफ्नो घरपरिवारलाई सुखी जीवन दिन सकिन्छ भन्ने आशा र विश्वासका साथ रूसी सेनामा भर्ना भइरहेका छन् । नेपाली युवाहरूलाई रूसी सेनामा आकर्षक तलब सुविधा तोकिएको छ । पछिल्लो समयमा नेपाली विद्यार्थीहरू अध्ययनको सिलसिलामा बाहिरिने क्रम बढेको छ । अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडालगायतका देशहरूमा अध्ययन भिसामा जानेहरूको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । अध्ययनका साथै काम पनि गर्न पाइने र वैधानिक तथा अवैधानिक तरीकाबाट विदेशमा रोजगार र बसोबास गर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । अध्ययनका लागि विदेशिने र अध्ययन पूरा भएपछि नफर्कनेहरूको तथ्याङ्क हेर्ने हो भने यो कुराको पुष्टि हुन्छ । नेपालमा बसेर पढ्दा छात्रवृत्तिको आशा राख्नेहरू अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडालगायतका देशहरूमा लाखौं खर्चेर कसरी पढिरहेका छन् भन्ने कुरा सरकारलाई थाहा नभएको होइन ।

तर स्वदेशमा रोजगार दिन नसकेको लाचार सरकार विदेश पठाएर उनीहरूको कमाइबाट आउने विप्रेषणले देशको आर्थिक अवस्थामा सुधारको आशा देखेर चुप बसेको छ । देशको यो परिस्थितिमा स्वदेशमा गाउँघरमा रोजगारका विभिन्न अवसरहरू पहिल्याएर युवाहरूलाई वैदेशिक रोजगारमा नजाऊ भन्ने सन्देश प्रवाह गर्नेहरू पनि छन् । पर्साको ठोरी गापाका पाँचजना युवाले आफूहरू विभिन्न पेशामा संलग्न रहेर पनि आफ्नै गाउँमा संयुक्त उखुखेती गरेर कृषि कर्मबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् । पर्सागढीमा पनि एकजना युवाले पशुपालन गरेका छन् । यस्ता अनेक उदाहरणहरू छन् र अवसरहरू पनि तर पनि विदेशिने क्रम भने रोकिएको छैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here