प्रस, वीरगंज, १० पुस/

वीरगंजमा जारी प्रो–क्लब च्याम्पियनशिप टी–२० क्रिकेट प्रतियोगिताका अन्तिम चरणका लिग म्याचहरू भइरहेका छन् ।

मङ्गलवार नारायणी क्रिकेट ग्राउन्ड वीरगंजमा सम्पन्न दुईवटा खेलमा पहिलो खेलमा युपी–११ लाई पराजित गर्दै नोएडा विजयी भयो भने पर्सा–११ र नेपाल पुलिसबीच भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

पहिलो खेलमा टस जितेर नोएडाले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै युपीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ११४ रन बनायो ।

जसमा समीर अन्सारीले २४, जयदीप सिंहले २३ रनको योगदान गरे । नोएडाका तर्फबाट सञ्जीव चतुर्वेदी, शशाङ्क शेखरले समान दुई/दुई विकेट लिएका थिए भने अलिप्त गुप्ता र कप्तान हर्षित सेठीले समान एक/एक विकेट लिएका थिए ।

११५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नोएडाले १५ ओभरमैं तीन विकेटको क्षतिमा ११५ रनको लक्ष्य भेटायो । जसमा नोएडाका कप्तान सेठीले ४५, सिद्धार्थ गोस्वामीले २७, उज्जैक मल्लिकले २२ रन बनाएका थिए ।

युपीको तर्फबाट सत्य तिवारीले दुई, सहिम हसनले एक विकेट लिएका थिए ।

नोएडा लगातार दुईवटा खेलमा विजयी भएपछि सेमिफाइनलमा पुग्ने आशा बढेको छ भने रन रेटको आधारमा अङ्कतालिकामा पर्साभन्दा माथि उक्लेको छ ।

यसैबीच, पर्सा–११ र नेपाल पुलिसबीच भएको दोस्रो खेलमा टस जितेर पर्साले बलिङ रोजेको थियो ।

नेपाल पुलिसले पहिलो पारीमा निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १२४ रन बनाएको थियो, जसमा करण केसी २९, अमित श्रेष्ठ २६, आरिफ शेखले २२ रन बनाए ।

पर्साको तर्फबाट अनिल साहले दुई, समसाद मन्सुरी र रूपेश सिंहले एक/एक विकेट लिएका थिए ।

१२५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पर्साले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो । पर्साको तर्फबाट कोही ब्याट्म्यान चल्न नसकेनन् । नेपाल पुलिसको तर्फबाट समीर ढकाल, ललित राजवंशी, करण केसीले समान दुई/दुई विकेट लिए भने राशीद खान र शेल मल्लले एक/एक विकेट लिएका थिए ।

क्यान पर्साद्वारा आयोजित प्रतियोगिताको अङ्कतालिका अनुसार नेपाल आर्मी चार खेलमा चारवटै जितेको छ भने पुलिसले चार खेलमा तीन, नोएडा चार खेलमा दुई, पर्सा चार खेलमा दुई, एपिएफ तीन खेलमा एक खेल जितेका छन् भने युपीले पाँच खेलमा एउटा पनि खेल जितेको छैन । सेमिफाइनल खेलमा पुग्ने दौडबाट युपी बाहिरिएको छ । प्रतियोगिताको फाइनल ३० डिसेम्बरमा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here