प्रस, वीरगंज, ९ पुस/
पर्सालगायत वीरगंज महानगरमा गत वर्ष देखिएको खानेपानीको हाहाकार यसपालि पनि समयमा सरोकारवाला निकायले ध्यान नदिए खानेपानीको चरम समस्या हुने विज्ञको भनाइ छ । चार महीनापछि पर्सा जिल्लामा खानेपानीको समस्या हुने विज्ञहरूको अनुमान छ ।
गत वर्षको सुक्खायाममा वीरगंज महानगरलगायत पर्साका अधिकांश गाउँपालिकामा खानेपानीको हाहाकार मचिएको थियो । वीरगंजमा देखिएको खानेपानीको हाहाकारले महानगरलगायत प्रदेश तथा सङ्घ सरकारको टाउको दुखाइको विषय बनेको थियो ।
त्यति बेला पार्टीको कामले वीरगंज आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खानेपानी समस्याको चाँडै समाधान गर्ने घोषणा गरेका थिए । तर चालू आर्थिक वर्षमा महनगरलगायत पर्सा जिल्लाको लागि प्रदेश तथा सङ्घ सरकारले सुको रकम नपठाएको सरोकारवालाले जानकारी दिएका छन् । त्यतिमात्र होइन, खानेपानी हेर्ने खानेपानी डिभिजन कार्यालयलगायत अन्य कार्यमा रकम कम पठाएको जानकारी प्राप्त भएको छ ।
गत वर्ष वीरगंजमा पानीको हाहाकार हुँदा सांसददेखि मन्त्रीहरू सबै वीरगंजमा पुगी समस्याको समाधान चाँडै गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी चार महीनापछि गत वर्षभन्दा बढी धारा सुक्ने खानेपानी कार्यालयका प्रमुख नीरन महर्जनको भनाइ छ ।
महर्जनका अनुसार गत वर्ष वीरगंजमा लगभग ६० प्रतिशत धारा सुकेको थियो भन्ने यसपालि ९० प्रतिशत धारा सुक्ने निश्चित भएको बताए । पर्साका जनप्रतिनिधिहरूले समयमा ध्यान नपु-याए यसपालि महानगरलगायत पर्साभरि पानीको ठूलो सङ्कट हुने उनको भनाइ छ । सङ्घ सरकारले चालू आर्थिक वर्षमा १४ करोड रुपैयाँ मात्र पठाएको प्रमुख महर्जनले बताए । पर्साका १४ वटा स्थानीय तहले खानेपानीको लागि बजेट नै राखेको छैन । सुक्खायाममा आउने समस्यालाई टार्न जनप्रतिनिधिलगायत सबैको ध्यान सङ्कट टार्नका लागि अति आवश्यक रहेको प्रमुख महर्जनको भनाइ छ । राज्यले पठाएको रकमबाट आफूले २० किलोमिटर अन्डरग्राउन्ड पाइपलाइन जडान गर्ने कार्य शुरू भएको बताए । उनले केही टेन्डरहरू खुलिसकेको र केही चाँडै खोल्ने प्रक्रियामा रहेको बताए । १३२ किलोमिटर पाइप अन्डरग्राउन्ड गर्नुपर्नेमा २० किलोमिटर पाइपिङ गरेर केही नहुने प्रमुख महर्जनको भनाइ थियो । तत्कालीन अवस्थामा वीरगंजमा खानेपानीको समस्या समाधानको लागि मन्त्रीको निर्देशनमा रु एक अर्बको प्रोजेक्ट प्लानिङ गरेर पठाएको अवस्थामा मात्र १४ करोड रकम पठाएर केही गर्न नसकिने उनको भनाइ थियो । अहिले वीरगंजमा खानेपानी संस्थानका १० हजार एक सय ग्राहक रहेको उनले बताए ।