प्रस, सिम्रौनगढ, ८ पुस/
दुई महीनादेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका आइतवारदेखि सञ्चालनमा आएको छ । सिम्रौनगढ नगरपालिका अन्तर्गतका करार, अस्थायी, ज्यालादारी कर्मचारीहरूले तलबको माग गर्दै दुर्ई महीनादेखि धर्नामा बस्दै आएका थिए ।

आजदेखि सिम्रौनगढ नगरपालिका लगायत सिम्रौनगढभित्रका विद्यालय, नगर अस्पताल र वडाहरूको कामकाज सञ्चालनमा आएका छन् ।

शुक्रवार बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा कलैयामा बसेको बैठकमा आन्दोलनरत कर्मचारीबीच तीन बुँदे सहमति भएको थियो ।

जस अनुसार स्थानीय तहका कर्मचारीहरू, स्वास्थ्यकर्मी, अस्पतालका स्थायी, करार कर्मचारीहरू एवं शिक्षकहरूका बाँकी तलबभत्ताको भुक्तानी पुस ९ गतेभित्र गर्ने, शिक्षा, स्वास्थ्य, नगर अस्पताल तथा कर्मचारीहरूका माग सम्बन्धमा नगरप्रमुखले क्रमशः सम्बोधन गर्दै जाने, सिम्रौनगढभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य कार्यालय, नगर अस्पताललगायत स्थानीय तहका सम्पूर्ण कार्यालय आजदेखि सुचारु गर्ने सहमति भएको थियो ।

सो अवसरमा नगरप्रमुख किशोरीप्रसाद कलवार, शिक्षा संयोजक कमलेश अग्रहरी, करार, अस्थायी, ज्यालादारी सङ्घका अध्यक्ष नितेश यादवलगायत शिक्षक, कर्मचारी र वडाध्यक्षहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here