• सञ्जय साह मित्र

एकजना पत्रकार साथी भन्दै थिए – मैले पैसा धेरै कमाउन सकिनँ, मानिस चाहिं कमाएँ । मेरो पोर्टफोलियो त माथि पुग्यो तर अरू साथीको तुलनामा आर्थिक आम्दानी गर्न सकिनँ । म यसरी नै सन्तुष्ट छु ।

कमाइको परिभाषा केवल धन कमाउनु होइन । अधिकांश मानिसले धन आर्जन वा सङ्ग्रहलाई मात्र कमाइ मान्ने गरेका छन् । धन आर्जनलाई नै बढी महत्व दिने गरेका छन् । मानिसले धन कमाए सबै थोक पूरा हुने ठान्दछ भने त्यसलाई भ्रम मान्नेहरू पनि छन् । धनबाहेक बाँकी सबै भ्रम हो भन्नेहरू पनि छन् । धनमा जीवन र जीवनमा धन दुवै आवश्यक देख्नेहरू पनि छन् ।

हो, धन धेरै थोक हो तर सब थोक भने अवश्य होइन । लामो समय शिक्षण सेवामा बिताएका एकजना ज्येष्ठ नागरिक भन्छन् – स्वास्थ्य बिगारी–बिगारी धन कमाऊ र त्यही धनलाई फेरि स्वास्थ्यमा लगाऊ । अर्थात्, धन र स्वास्थ्यको ठूलो निकटता छ । धनले स्वास्थ्य कि स्वास्थ्यले धन ? फेरि जटिलता थपिन्छ । वास्तवमा स्वस्थ व्यक्तिले नै धन आर्जन गर्ने हो र यदि धन छैन भने अस्वस्थ भएको बेला अरू केही काम लाग्दैन । यसबाट यो पनि स्पष्ट हुन आउँछ कि स्वस्थ व्यक्तिले धन आर्जन गर्नुपर्छ । तर, ती अग्रज शिक्षकको भाव भने फरक कुन रूपमा रहेको छ कि उनी थप्छन् – धनको पछाडि नकुदौं, स्वास्थ्यमा जोखिम पुग्नेगरी धन आर्जनका लागि अन्धो नबनौं । स्वस्थ रहिरहे एक समय आउँछ जब आवश्यकता र चाहना दुवै पूरा हुन थाल्छ ।

आवश्यकता र चाहना पनि फरक कुरा हुन् । चाहना हुँदैमा जे पनि गर्न पाइन्न र जसकसैलाई पनि जस्तोसुकै कुराको चाहना पनि हुँदैन । हो, चाहनाको पनि सीमा हुन्छ । कोही कसैले कुनै चाहना गर्ने आधार वा पूर्वाधार उसको हैसियतमा निर्भर हुन्छ । हैसियतविनाको चाहनालाई कल्पना भन्न सकिन्छ । कल्पनाको लड्डु घीउसित जति खाए पनि हुन्छ, यसै कारण भनिएको हुनुपर्छ–कल्पना गर्न कसैलाई कसैले रोक्दैन तर कल्पना आधारहीन छ भने त्यस्तो कल्पनाको कुनै मूल्य हुँदैन । मूल्यहीन कल्पना मात्र गर्नेले आफ्नो जीवनलाई कत्तिको सार्थक काममा लगाइरहेको होला ?

धनको कमाइ मात्र कमाइ हुने भए मानिस जुनसुकै उपायबाट धनमात्र कमाउन चाहन्थ्यो तर मानिसलाई धन चाहिन्छ र धनसँगै अन्य विभिन्न कुरा पनि चाहिन्छ । धनलाई सम्पत्ति पनि भनिन्छ तर धनभन्दा ठूलो सम्पत्ति मानिसको प्रतिष्ठा, मान र सम्मान पनि हो । अनि मानिसले धनले सम्मान किन्न पनि सक्छ वा समाजमा जो धेरै धनी छ, उसको सम्मान पनि धेरै हुन्छ । सामान्यरूपमा यो भनाइ सही देखिन्छ तर यो सतही हो । धनको सम्मान नहुने कुरा होइन, तर धनसँगै त्यस व्यक्तिको सम्मान हुन्छ, जो धनी छ । धनीसँगै यदि ऊ गुनी पनि छ भने सुनमा सुगन्ध थपिएजस्तो हुन्छ । धन छ तर मानिस अवगुणले भरिएको छ भने समाजमा खासै सम्मान हुँदैन । उसको अगाडि कम सम्पत्ति भएको मानिसको पनि सम्मान ठूलो हुन सक्छ ।

धनको मूल्य ठूलो हो । अझै पनि धनकै लागि मानिस घर बाहिर गइरहेको छ कामको खोजीमा । धनी र सुखी हुने लोभमा मानिस भौंतारिइरहेको पाइन्छ । धनकै पछिपछि कुदेर मानिस यस्तो ठाउँमा पुग्दछ, जहाँबाट उसको उन्मुक्तिको कल्पना पनि मुश्किल हुन्छ । यद्यपि समाजले पहिलेदेखि मान्दै आएको सत्य के पनि हो भने मानिसलाई धनसँगै अनुभव, संस्कार, इज्जत, मान र प्रतिष्ठा तथा प्रेम अनि सम्बन्धको आवश्यकता पर्दछ र मानिसले यी सबै आफ्नै परिश्रम तथा व्यवहारले आर्जन गर्ने गर्दछ ।

यस मामिलामा अलिक फरक धारणा छ शास्त्रहरूको । शास्त्रहरूमा कमाइलाई पुरुषार्थ भनिएको छ र पुरुषार्थसित जोडिन पुग्छ जीवनको लक्ष्य । जीवनको लक्ष्यमा त उही धर्म, अर्थ, काम र मोक्ष हो भन्ने कुरा स्पष्ट छ । फेरि यो पनि भनिएको पाइन्छ कि सामान्य मानिसका लागि यी चार पुरुषार्थ वा लक्ष्य हुनुपर्छ । विशेष मानिसका लागि यीमध्ये कतिपय नहुन पनि सक्छ । जस्तै कुनै साधुको लागि कामसित कुनै सरोकार नहुन सक्छ । धर्मले वा धर्मशास्त्रले दिने गरेका उदाहरणहरू खासै मान्नैपर्ने भन्ने पनि हुँदैन । कतिपयले यसलाई सोझै अस्वीकार गर्नुभन्दा पनि आजको परिवेशमा यिनको महत्व फरक किसिमले भइसकेको भनी बताउने गर्दछन् । तर अहिले पनि कमाइलाई केही हदसम्म धार्मिक भावना र केही हदसम्म व्यावहारिक प्रयोजनसमेत सटेर कतिपयले यसरी परिभाषित गर्ने गरेका छन् – वास्तविक कमाइ जीवनपश्चात् पनि साथ रहन्छ ।

मानिसको मृत्यु भएपछि ऊसित जाने केही हुँदैन तर जीवनपश्चात् पनि साथमा कमाइ रहन्छ भन्नुको तात्पर्य यशसित हो । मानिसले धन आर्जन जति धेरै गरे पनि जबसम्म उसको शरीर रहन्छ, तबसम्म मात्र उसलाई धनको कारण मानिसले चिन्दछ तर यदि धनसँगै यशको कमाइ भएको छ भने त्यस यश वा कीर्तिको कारण वा माध्यमले दुनियाँले त्यस मानिसलाई पछिसम्म चिनिरहन्छ । पछिसम्म चिन्नेहरूले सम्मानका साथ नाम लिइरहन्छन् । जुन समाजमा मानिस बस्छ, सम्मान र यशको दायरा त्यहींसम्म सीमित हुन्छ भन्ने होइन । यसको दायरा समाजको घेरा नाघेर धेरै टाढासम्म पनि पुग्न सकेको हुन्छ । यस्ता धेरै मानिसको नाम हामीलाई थाहा छ, उसको कामसहित जो हाम्रो समाजका होइनन् । निकै टाढा वा परदेशका भए पनि तिनलाई मानिसले सजिलै चिन्दछन् । हो, वास्तविक कमाइ कतिपयले यसैलाई मान्ने गरेका छन् । भारतको प्रसिद्ध धार्मिक नगरी बनारस अर्थात् काशीमा रहेको काशी हिन्दू विश्वविद्यायमा महामना मदनमोहन मालवीयको प्रतिमा राखिएको छ । उक्त विश्वविद्यालय बनाउन उनले गरेको लगानीको कीर्तिले विश्वमा नै शिक्षाको ज्योति फैलाउन हुने गरेको प्रयत्नको विश्वभर प्रशंसा हुन्छ । वीरगंजमा नै केही यस्ता नामहरू छन् जो निरन्तर चर्चामा रहन्छन् आफ्ना कामले गर्दा । देशको हकमा पनि यही देखिन्छ कि केही मानिसको सम्मान उनको जीवनमा भन्दा देहान्तपछि बढी भइरहेको छ ।

ठगी गरेर, अरूलाई लुटेर, झुटो बोलेर तथा अन्य तरीकाबाट आर्जन गरिएको भौतिक सम्पत्तिलाई कथित सम्पत्ति मानिएको छ । कथित सम्पत्तिले सार्वजनिक ठाउँमा जहाँ सम्पत्तिको चर्चा हुन्छ, त्यहाँ अनुहार अँध्यारो बनाउँछ । अनुहार नै अँध्यारो बनाउने वा पुरुषार्थलाई कलङ्कित तुल्याउने धनले मानिसलाई केही दिएको हुन्छ त ? त्यो कुन सुख हो जो एक्लै ओछ्यानमा सुतेको बेला नरमपनाले घोच्दछ । जीवनलाई आनन्दमय बनाउनुपर्छ । आनन्दमय जीवन पनि ठूलो सुख हो वा आनन्दमय जीवन आफैंमा ठूलो आर्जन हो, सम्पत्तिभन्दा मूल्यवान हो । अमूल्य हो । जसलाई मूल्यसित तुलना गर्नु सबैको नजरमा अप्ठ्यारो हुन्छ । हो, कमाइ त त्यो पनि हो जो अरूलाई दिन सकिन्छ । उदाहरणको लागि कुनै शिक्षकलाई हेरौं, आफूले पढाएका शिष्य जब राम्रो प्रगति गर्दछ तब धेरै खुशी हुन्छ । अरूको खुशीमा प्रसन्न हुनु पनि मानव जीवनको लागि खुशीको कुरो हो, एक अर्थमा सुखी वा सन्तुष्ट जीवन बिताउने माध्यम हो, आर्जन हो ।

व्यक्तिको शिक्षा, दीक्षा, सोच वा दृष्टिकोण आदिको आधारमा कमाइको अर्थ र परिभाषा तथा यसको सीमा र क्षेत्र निर्धारण हुने हुन्छ । यद्यपि सबैभन्दा उत्तम कमाइ त्यही हो जसबाट सन्तुष्टि प्राप्त हुन्छ र पछिसम्म उदाहरणको लागि नाम चलिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here