प्रस, परवानीपुर, ३ पुस/

पर्सा जिल्लाको एक चर्चित किर्ते मुद्दाको मङ्सिर ४ गते बुधवार थुनछेक बहस हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको किर्ते मुद्दाको मिसिल सरकारी वकीलको कार्यालय (जिल्ला न्यायाधिवक्ताको कार्यालय) पर्सामा गइसकेकोले पर्सा जिल्ला अदालतमा भोलि बुधवार थुनछेक बहस हुनेछ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार मुद्दाको सिलसिलामा प्रहरीको अनुसन्धानमा दुईजनालाई पक्राउ गरिएको र थप आवश्यक कारबाहीको लागि मिसिल सरकारी वकीलको कार्यालयमा पठाइएको जानकारी गराए ।

घटना भने पर्सा, बहुदरमाई नगरपालिका–२ सिसियाडीमा किर्ते गरी आफ्नै पत्नीलाई कान्छीआमा बनाइ बुबाको निवृत्तभरणको रकम कुम्ल्याएको हो । बुबा विनोदप्रसाद यादवको निधनपश्चात् निजका जेठा छोरा विकासप्रसाद यादवले पत्नी सङ्गीता देवीलाई कान्छीआमा गीतादेवी यादवको नाममा किर्ते कागजात खडा गरी नागरिकता बनाइ विगत पाँच वर्षदेखि निवृत्तिभरणको रकम बुझ्दै आएका थिए । हालसम्म उनले करीब २० लाख रकम बुझेको बताइएको छ ।

यस कार्यमा बहुदरमाई नगरपालिका वडा नं २ का अध्यक्ष जीतेन्द्र पटेलले नागरिकता सिफारिश तथा विवाहदर्ता बनाउन गैरकानूनीरूपमा सिफारिश गरेकाले उनको पनि संलग्नता देखिएको छ । किर्ते मुद्दामा स्व विनोदका जेठा छोरा विकास र निजकी पत्नी सङ्गीतालाई पर्सा प्रहरीले केही साताअघि मात्रै अनुसन्धानको क्रममा पक्राउ गरिसकेको छ भने किर्ते कार्यमा सहयोग गरेका वडाध्यक्ष पटेल फरार छन् । गत मङ्सिर १२ गते पर्सा जिल्ला अदालतबाट वडाध्यक्षसहित तीनैजनाको नाममा पक्राउ पुर्जी जारी भएको तर हालसम्म वडाध्यक्ष पटेल पक्राउ परेका छैनन् ।

किर्ते मुद्दाका जाहेरीवाला स्व विनोदप्रसाद यादवका कान्छा भाइ प्रमोदप्रसाद यादव हुन् । आफ्नो बुबा र दाइ गाउँघरकै प्रतिष्ठित व्यक्ति भएको तर भतिजो विकासले घृणित कार्यमा संलग्न भएको थाहा पाएपछि गलत कार्यको विरोधमा प्रशासनमा गएको उनले बताए । २०७९ असोज २६ गते किर्ते मुद्दा लिएर प्रमोदले गृह मन्त्रालयमा उजूरी दिएका थिए । गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, पर्सामा २०७९ मङ्सिर ९ गते किर्ते मुद्दा दर्ता भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, पर्साले पर्सा प्रहरीलाई पत्राचार गर्यो । जिल्ला प्रहरी कार्यालय, पर्साले २०८० मङ्सिर १० गते मुद्दा दर्ता गरी अनुसन्धान अघि बढायो । सोहीअनुरूप तीनजना मुख्य अभियुक्तमध्ये दुईजना पक्राउ परेका छन् भने वडाध्यक्ष पटेल फरार छन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी परेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालय, पर्साबाट हरेक महीना बुझ्दै आएको निवृत्तिभरणको रकम रोकिएको छ । मुद्दाको किनारा नलागेसम्म निवृत्तिभरणबापतको रकम नदिने कोलेनिकाले जनाएको छ ।

प्रमोदका स्व दाइ विनोदप्रसाद यादव बर्वा विद्यालयका प्रधानाध्यापक हुँदा उनको निधन २०७४ माघ १ गते भएको थियो । सेवारत हुँदा नै बिरामी परेर उनको निधन भएको थियो । उनकी पत्नी मीनादेवीको २०६७ असार ११ गते नै निधन भएको थियो । गाउँलेका अनुसार विनोदको कान्छी पत्नी थिएन । पत्नी पहिले नै मृत्यु भएको हुँदा निवृत्तिभरणबापतको रकमको हकदार कोही   थिएन । तर निवृत्तिभरणबापतको रकम हत्याउन किर्ते कागजात खडा गरी जेठा छोरा विकासले पत्नी सङ्गीतालाई बुबाको कान्छी पत्नी गीतादेवी यादव बनाएर निवृत्तिभरणबापतको रकम प्राप्त गरेको खुलासा भएको छ ।

शुरूमा अस्वीकार गरेको वडाले किन गर्यो सिफारिश

शुरूमा नागरिकता सिफारिश गर्न नमानेको वडा कार्यालयले निर्णयसमेत गरेको अवस्थामा विकासले पत्नी सङ्गीता देवीलाई कान्छीआमा बनाएर पर्सा जिल्ला अदालतमा अंश मुद्दा दिलाएपछि पुनः मुद्दा मिलापत्र गराइ बुबाको नक्कली पत्नी गीता देवीको नाम खडा गरेको खुलेको छ । पछि नगरपालिका, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा कार्यालय, वडाध्यक्ष, वडा सचिवलाई विपक्षी बनाएर परमादेश माग्दै पर्सा जिल्ला अदालतमा रिट गरेपछि अदालतले नियम अनुसार नाता कायमको सिफारिश गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा वडाध्यक्षसहित वडा कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्नुपर्नेमा वडाध्यक्ष किर्ते सिफारिश गर्न बाध्य भएका थिए ।

वडा सचिवले नाता प्रमाणित लेख्नुपर्नेमा स्वयं वडाध्यक्षले नै कार्यालयको लेटर प्याडमा हस्ताक्षर गरी नाता प्रमाणित गरेको र सोको अभिलेखसमेत कार्यालयबाट गायब गरिएको छ । जाहेरीवाला प्रमोदले यदि एकै सङ्गीता देवी दुई पात्र हुन् भने दुवैजनालाई पर्सा जिल्ला अदालतमा हाजिर गराउन चुनौती दिएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको किर्ते मुद्दाको अनुसन्धानको क्रममा विकासले आफ्नी साली मञ्जुदेवीलाई सङ्गीता देवी भएको भन्दै उपस्थित गराएका थिए । मञ्जुको विवाह भारत, बिहार, पूर्वी चम्पारणमा भएको र उनका पति बिहार बस्ने किशोरी यादव हो भन्ने प्रमाण पनि फेला परिसकेको छ । यद्यपि निवृत्तिभरणबापतको रकम हत्याउने छोरा विकासले आफ्ना छोरा आर्यनकुमार यादवको वडा कार्यालयबाट जन्मदर्ता बनाउँदा आर्यनकी आमा सङ्गीता देवी नै रहेको उल्लेख छ ।

अख्तियारलाई पनि विपक्षी बनाइयो

यसै मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले गरेको अनुसन्धानप्रति चित्त नबुझेपछि जाहेरीवाला प्रमोद यादवले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट दर्ता गरेका

थिए ।

अख्तियारले गत असार ५ गते निवेदकले पर्याप्त प्रमाण नदिएका कारण मुद्दा तामेलीमा राखेको भन्दै गरेको निर्णयप्रति जाहेरीवालाले गत असोज ७ गते उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए । उनले प्रमाणसहित २०७९ असोज २६ गते अदुअआ, हेटौंडामा किर्ते मुद्दामा छानबीन गर्न उजूरी दर्ता गरेका थिए । तर अख्तियारले राम्ररी अनुसन्धान नगरेको भन्दै मुद्दा तामेलीमा राखेकोले उच्च अदालत गएको उनले बताए । उच्च अदालत पाटनको हेटौंडा इजलासले गत मङ्सिर ११ गते प्रारम्भिक आदेश गरेको थियो ।

उच्च अदालतले स्व विनोद र कान्छी पत्नीेत गीतादेवी यादवको विवाहदर्ताको सकल रजिस्टर र वडाध्यक्ष जीतेन्द्र पटेलको अध्यक्षतामा बैठक बसेको २०७४ फागुन १५ गतेको सक्कल निर्णय पुस्तिका झिकाइ पेश गर्न अख्तियारको नाममा आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here