नितेश कर्ण, वीरगंज, ३ पुस/
मानव बेचबिखन नियन्त्रण एकाइ इलाका मुख्यालय बेतियाको रक्सौलस्थित कार्यालयले एकजना भारतीय नाबालिकाको उद्धार गर्नुका साथै एकजनालाई पक्राउ गरेको छ ।
नेपाल–भारत मैत्रीपुलमा १३ वर्षीया किशोरी पुष्पादेवीलाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण एकाइ इलाका मुख्यालय बेतियाको रक्सौलस्थित कार्यालयले नाबालिकालाई ललाइफकाइ नेपाल ल्याउँदै गरेका युवक इर्शाद खानलाई पक्राउ गरेको छ । प्रयास बाल सहायता केन्द्र, रक्सौलकी आरती कुमारीले नाबालिका पुष्पादेवीलाई काउन्सिलिङ गरेपछि उनी घरबाट रिसाएर निस्केको र रेलमा बसेको तथा सोही रेलमा इर्शाद खानसँग भेट भएको बताइन् ।
इर्शादले पुष्पाका परिवारसँग सम्पर्क गरेर उनलाई घर फर्काउने आश्वासनमा रकम लिएको तर घर नफर्काएपछि परिवारले प्रहरीलाई सोबारेमा जानकारी गराएको थियो । इर्शादले आज नेपाल घर ल्याउने क्रममा उनलाई पक्राउ गरिएको हो । पुष्पालाई भने घरपरिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक मनोजकुमार शर्माले बताए । उनले अभियुक्त इर्शादसँग सोधपूछ भइरहेको बताए ।