सुग्रीव साह, भिस्वा, ३ पुस/

छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित मङ्गल माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ ।

कम्प्युटर ल्याबमा रहेका १४ थान कम्प्युटर र कार्यालयमा रहेका दुई थान कम्प्युटर, वाइफाईको राउटर, सिसिटिभी सञ्चालनका लागि राखिएको इन्भर्टरको ब्याट्रीलगायतका सामानहरू चोरी भएको विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद कुर्मीले बताए । उनले चोरीबारेमा अहिलेसम्म कुनै सुराक फेला नपरेको र प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनले यसअघि छ महीना पहिले पनि विद्यालयमा चोरी भएको र त्यतिखेरको चोरी नसुल्झँदै गएराति फेरि चोरी भएको बताए । आज विद्यालयमा अर्धवार्षिक परीक्षा अन्तर्गत अन्तिम परीक्षा थियो ।

चोरीको घटना सार्वजनिक भएर होहल्ला मच्चिएको र प्रहरी अनुसन्धान शुरू भएकोले आजको अन्तिम परीक्षा स्थगित भएको थियो ।

भिस्वा बजारमा पछिल्लो समयमा चोरीका घटनामा वृद्धि भएको छ । सीमावर्ती क्षेत्रमा रहेका मदिरापसलहरू बजारमा व्यवस्थापन गरिएपछि अबेर रातिसम्म मदिरापसलहरू सञ्चालनमा रहने गर्नाले बजारमा चोरीका घटनामा वुद्धि भएको स्थानीयको आरोप छ । अहिले केही समयदेखि भिस्वामा तस्करी पनि खुला गरिएको छ । तस्करहरूले सामान ओसारपोसार गर्दा रोक्न नपरोस् भनेर सुरक्षाकर्मीहरूले गस्ती बन्द गरेका छन् । उनीहरू चौकी र बेस क्याम्पमा राति मात्र बस्छन् । चीसो बढेको बहानामा सुरक्षा गस्ती बन्द गरिएपछि सोको फाइदा तस्करहरूले त उठाइरहेकै छन् साथै चोरले पनि फाइदा लिइरहेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here