नयाँदिल्ली, ३ पुस/एएफपी
विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धूवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ ।
निलम्बित १४१ सांसद आगामी वर्षको शुरूमा हुन गइरहेको आमनिर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन् । डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेंलो धूवाँ छाडेर सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए ।
सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमवार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो । संसद् अधिवेशन शुक्रवार समाप्त हुँदैछ । शक्तिशाली गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसद्भित्र नारा लगाएपछि मङ्गलवार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ ।
निलम्बित सांसद तथा विपक्षी काङ्ग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “अर्थपूर्ण बहसविना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिंदैछ ।”
संसद्मा हमला भएको २२औं वार्षिक दिवसका दिन धूवाँ विरोध भएको थियो । २२ वर्षअघि पुरानो संसद् भवनमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीको गोली हानी हत्या गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक जागरण अखबारलाई दिएको अन्तर्वार्तामा घटनालाई ‘अत्यन्त गम्भीर’ भन्दै विस्तृत जाँचको आदेश दिएको तर यसबारेमा बहस गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए । अत्यन्त लोकप्रिय प्रधानमन्त्री मोदीले आगामी वर्षको मेमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा तेस्रोपटकको कार्यकालका लागि उम्मेदवारी दिन खोजेका छन् ।
प्रहरीले विरोध प्रदर्शनमा कारबाही गरेको, सत्तारूढ दलले व्यापारिक सहयोगीहरूबाट यथेष्ट पैसा प्राप्त गरेको र प्रेस स्वतन्त्रतामा कटौती गरेको आधारमा मोदी नेतृत्वको भारत राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मामिलामा फ्रिडम हाउसको वरीयतामा तल झरेको छ । रासस