प्रस, परवानीपुर, २ पुस/
बारा क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्य किसान भन्ने कृष्णकुमार श्रेष्ठले नेपालमा किसानलाई उत्पादन बढाउन सरकारले प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
परवानीपुरमा आयोजित कृषि यान्त्रीकरण तालीमको समापन कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले सो बताएका हुन् ।
राष्ट्रिय कृषि इन्जिनीयरिङ अनुसन्धान केन्द्र, खुमलटारद्वारा कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरको सभाहलमा सम्पन्न कार्यक्रममा उनले कृषकलाई अनुदान दिएर अल्छि बनाउनुभन्दा उत्पादन बढाएर बालीनाली उब्जाउने वातावरण बनाउन सरकारले प्रेरित गर्नुपर्नेमा जोड दिए ।
कृषिलाई यान्त्रीकरण गर्न सके युवाशक्ति पलायन हुनबाट रोक्न सकिनेमा उनको जोड थियो । “जबसम्म देशमैं कृषि कर्म गरेर नेपाली युवाले विदेशजस्तो आम्दानी गर्न सक्दैनन्, तबसम्म विदेश पलायन हुने क्रम रोकिंदैन,” उनले भने, “यस कारण युवालाई विदेश जानबाट रोक्न सरकारले सधैं प्रेरित गर्ने खालको नीति बनाउनुपर्छ ।” नीतिसँगै किसानले समयमा आफ्नो उत्पादनको प्रतिफल पाउने वातावरण बनाउनु पनि सरकारको दायित्व भएको उनले बताए ।
कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका निर्देशक डा बिपी यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वैज्ञानिक डा श्रीमत श्रेष्ठ, राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रम, परवानीपुरका संयोजक डा पूर्णभट्ट चापागाईं, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, नवलपुर, सर्लाहीका प्रमुख रामनाथ झा, कृषि औजार अनुसन्धान केन्द्र, वीरगंजका प्रमुख सचिनकुमार मिश्र, जोन प्राविधिक एकाइ पर्साका प्रतिनिधि पुरुषोत्तमबहादुर रौनियारलगायतको सहभागिता थियो । तालीम संयोजक इन्जिनीयर गङ्गाराम भण्डारीको सहजीकरणमा सम्पन्न भएको तालीममा तराई–मधेसका २० वटा जिल्लाबाट सहभागिता थियो ।
मङ्सिर २६ देखि पुस २ गतेसम्म सञ्चालन भएको ‘तराई क्षेत्रका युवा उद्यमी किसान र बेरोजगार युवाका लागि आवासीय कृषि यान्त्रीकरण तालीम’मा आधुनिक युगमा मेशीनबाट धान, गहुँ, मकै, आलु, उखु रोप्न, चरुवा धान प्रविधि, शून्य खानजोत गहुँ प्रविधि, मकै–आलु–उखु लगाउने प्रविधि (औजार), बेलर प्रविधि, कार्बोह्यापिसिडर, सुपर सिडर, न्यूनतम खनजोत प्रविधि आदि तरीकाका बारेमा खेतमैं प्रयोगात्मक प्रदर्शन गर्दै तालीम दिइएको थियो ।