पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारले तदारूकता नदेखाएको उनीहरूको आरोप छ । दबाबमूलक कार्यक्रम गर्दा पनि सरकारले नसुनेमा सडक आन्दोलनमा उत्रन बाध्य हुने होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डले चेतावनी दिएको छ । २०७१ माघमा शिलान्यास गरिएको रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा आएर सम्पन्न भएको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थल एशियाली विकास बैंकको नौ अर्ब रुपैयाँ ऋण सहयोगमा चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरेको हो । २०२३ फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्रबाट उद्घाटन भएको भैरहवा विमानघाट ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिणत भएको हो ।

त्यसैगरी, मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा विमानस्थल निर्माण गरिएको हो । कास्की जिल्ला, पोखराको छिनेडाँडामा विसं २०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि २०७३ वैशाखमा विमानस्थलको शिलान्यास गरियो । शिलान्यासको छ वर्षपछि २०७९ को उत्तराद्र्धमा विमानस्थल निर्माण सम्पन्न भएको हो । भैरहवा र पोखरा, यी दुवै विमानस्थल ५–६ दशकदेखिको नेपालीको सपना हो । लामो खोज, अनुसन्धान र छलफलका बावजूद दुवै विमानस्थल निर्माण भएका हुन् । निर्माणअगावै वा निर्माण अवधिमा जुन उत्साह थियो, निर्माण सम्पन्न भएपछि यसको सञ्चालनमा त्यो उत्साह सरकारमा देखिएको छैन । उक्त विमानस्थलहरूलाई लक्षित गरी लगानीकर्ताहरूले खर्बौं लगानी गरिसकेका छन् । तर सोच अनुसार अन्तर्राष्ट्रिय विमान सञ्चानलमा नआएपछि लगानी डुबेको अवस्थामा पुगेपछि कैंयन लगानीकर्ताहरू टाट पल्टिएका छन् ।

हुनत विमानस्थल निर्माण भएर मात्रै अन्तर्राष्ट्रिय विमानसेवा सञ्चालन हुन सक्दैन । अन्तर्राष्ट्रिय विमानसेवाका कर्मचारीदेखि यात्रुहरूसम्मका लागि ढुक्क हुने किसिमको सम्पूर्ण वातावरण एवं पूर्वाधारहरू तयार भइसक्नुपर्छ । सेवाप्रदायक कम्पनीहरूले पनि नयाँ चरणबाट आफ्ना थुप्रै तयारीहरू गर्नुपर्ने हुन्छ । विमानस्थलले विमानसेवा कम्पनीहरूको विश्वास जित्न पनि सक्नुपर्छ । पोखरा विमानस्थल सञ्चालनको केही पछि नै आन्तरिक उडानको विमान दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय विमानसेवा प्रदायकहरू सशङ्कित भए । त्यसले पनि उनीहरूको तयारीलाई केही पछि धकेल्यो । विमानसेवाका लागि मुख्यतः रूटको कुरा आउँछ । दुवै विमानस्थलबाट उड्ने विमानहरूको लागि भारतीय शहरहरूमा अवतरणको लागि भारत सरकारले अनुमति दिएको छैन । नेपाली राष्ट्रिय ध्वजावाहक विमानले मागेको अनुमतिलाई भारतले आलटाल गरेको हुँदा अन्य विमान कम्पनीहरूले इजाजत पाउने कुरा भएन । अन्तर्राष्ट्रियजगत्मा भारतको पहिचान राम्रो भएको हुँदा भारतीय प्राथमिकतालाई पनि विमानसेवा कम्पनीहरूले महत्व दिने गरेका छन् । एउटा कम्पनीमा चिनियाँ लगानी हुनु र अर्कोमा चिनियाँ ठेकेदारले काम गर्नुले भारत चिडिएको हो । यसको फाइदा काठमाडौंले लिइरहेको छ । दुवै विमानस्थल नचलोस् भन्ने काठमाडौंका लगानीकर्ताको लविङ छ । यस कारण सरकार सुस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here