प्रस, पोखरिया, ३० मङ्सिर/

पर्साको पोखरिया नगरपालिकाको कार्यालयमैं एकजना महिला सरसफाइ कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास भएको छ ।

सरसफाइको नाममा शुक्रवार राति करीब साढे ९ बजे कार्यालयमा बोलाइ सरसफाइका नाइकेले जबरजस्ती करणीको प्रयास गरेको महिला सरसफाइकर्मीले आरोप लगाएकी छन् । कारबाहीको माग गर्दै ती महिलाले शनिवार इलाका प्रहरी कार्यालय, पोखरियामा उजूरीसमेत दिएकी छन् । पोखरिया बजारमा शनिवार बिहान सरसफाइकर्मीले फोहोर सङ्कलन गरेनन् ।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले नगरपालिकाकी महिला सरसफाइकर्मीले आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै उजूरी दिएको बताए । रातिदेखि नै आरोपित सरसफाइका नाइके रामबली हजरा फरार छन् । पीडित महिलाका अनुसार राति खाना पकाउने समयमा सरसफाइ गर्नु छ भन्दै नगरपालिकामा बोलाएको र बलात्कारको प्रयास गरिएको थियो ।

सरसफाइकर्मी महिलाले आफूलाई कार्यालय भवनको भुइँ तलामा रहेको स्वास्थ्य शाखामा सरसफाइ गर्ने क्रममा नाइके रामबली हजराले कोठाको चुकुल लगाएर जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी छन् । उनले आफूमाथि बलात्कारको प्रयास भएको महसूस गरेपछि होहल्ला गरेको र ढोका खोलेर पर्खाल हामफालेर भागेर जोगिएको बताइन् । सरसफाइ शाखा प्रमुख विनोद पाण्डेले घटना सम्बन्धमा छानबीन शुरू भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here