प्रस, पोखरिया, ३० मङ्सिर/
पोखरिया नगरपालिकामा विकास निर्माणको काम गर्दा केही नेताहरू बाधक बनेका नगरप्रमुख प्रद्युम्न चौहानले आरोप लगाएका छन् ।
पोखरिया नगरपालिकाको कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौहानले पोखरियामा निर्माण हुन लागेको घण्टाघर केही नेताहरूको अवरोधका कारण निर्माण हुन नसकेको बताए । उनले नेपाल सरकारको नाममा रहेको खाली जग्गामा स्थानीय सरकारले विकास निर्माणको काम गर्न पाइने भएपनि पार्टीगत द्वन्द्वका कारण अवरोध सिर्जना गरिरहेको आरोप लगाए । नेपाल सरकारको नाममा रहेको वीरगंज चिनी कारखाना लिमिटेडको जग्गामा घण्टाघर निर्माण गर्न बोर्ड बैठकले निर्णय गरेको उनले बताए । सोही जग्गामा स्थानीय क्लबले भवन बनाइ वर्षौंदेखि भाडा असुल्दै आएको थियो ।
नगरप्रमुख चौहानले पोखरिया नगरपालिकाको विकास निर्माण काम अन्तर्गत नाला निर्माण, सडक ढलान, कालोपत्रलगायतका काम भएको बताए । वर्षौंदेखि रोकिएको नगर विकासको कामको उद्घाटन भएको र चाँडै निस्सा वितरण गरिने उनले बताए । पोखरिया अस्पताललाई ५० शøयाको जिल्ला अस्पताल बनाउने प्रक्रिया अगाडि बढेको उनले बताए । उनले इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखाका सेवाकेन्द्र केही महीनाभित्रै स्थापना हुने बताए । सोको लागि भवनको व्यवस्थापन भइरहेको उनको भनाइ थियो । उनले विद्यालय तथा स्वास्थ्य संस्थामा केही कर्मचारीहरूको आवश्यकता भएकोले शिक्षक तथा स्वास्थ्यकर्मीको लागि विज्ञापन गरेको तर प्रकिया नपुगेर स्थगित भएकोमा फेरि विज्ञापन गरी पूर्ति गरिने बताए ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडाध्यक्ष लक्ष्मण साह, किशोरी साह, मनोज कुर्मीलगायतको सहभागिता थियो ।