प्रस, वीरगंज, १९ मङ्सिर/
श्रीसिया नदी छठपछि पुनः प्रदूषित भएको छ । छठको बेला श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूले एक साताको लागि कारखानाको फोहर नदीमा नफालेपछि नदी सफा भएको थियो । तर छठ सकेसँगै नदी आसपासमा रहेका उद्योगहरूले कारखानाका प्रदूषित पानी नदीमा विसर्जन गर्न शुरू गरेपछि अहिले नदी पुरानै अवस्थामा प्रदूषित भएको छ ।

नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएपछि उनले श्रीसिया नदी प्रदूषणमुक्त गर्ने घोषणा गरेका थिए । जसअनुरूप अभियान पनि शुरू गरेका थिए । तर उनको अहिलेसम्मको १९ महीने कार्यकालमा गएको छठमा एक साताको लागि श्रीसिया नदी प्रदूषणमुक्त भयो, त्यसपछि पुरानै अवस्थामा छ । महानगरले श्रीसिया नदी प्रदूषणमुक्त गर्नको लागि श्रीसिया नदी प्रदूषण नियन्त्रण समिति उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठन गरेको थियो । सो समितिले पाँचवटा उद्योगलाई तीन/तीन लाख रुपैयाँ दण्ड जरिवाना गर्नुका साथै प्रत्येक साता मङ्गलवार उद्योगहरूको अनुगमन गर्दै आएको थियो ।

यसका साथै नगरप्रमुख सिंहसमेतले बेलाबखत श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूको अनुगमन गर्ने र पानी प्रशोधन गरेर मात्र श्रीसिया नदीमा विसर्जन गर्न आग्रह गर्दै आएका थिए । महानगरको प्रयासमा मरियम लेदर, अरनिको टेक्सटाइल्सले उद्योगमा पानी प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ । एक महीनाअघि दुवै उद्योगले पानी प्रशोधन केन्द्र स्थापना गरे पनि अन्य उद्योगहरूले भने खासै चासो देखाएका छैनन् ।

नदी आसपास रहेका ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर, दुर्गा पल्स एन्ड पेपर, सिद्धि टेक्सटाइललगायतले अहिलेसम्म पानी प्रशोधन केन्द्र राख्ने अथवा उद्योगको रसायनयुक्त पानी प्रशोधन गरेर नदीमा विसर्जन गर्ने कार्य गरेका छैनन् । पछिल्लो समय छठ आएसँगै महानगरले श्रीसिया नदी प्रदूषणमुक्त गर्न अभियान चलाएको थियो । त्यसपछि अहिले महानगरले एउटा सूचना जारी गरेर श्रीसिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाई हुने चेतावनी मात्र दिएको छ ।

नगरप्रमुख सिंहले यसबीच श्रीसिया नदी प्रदूषण नियन्त्रण समिति भङ्ग गरेका छन् र यससम्बन्धी कारबाई अगाडि बढ्न सकेको छैन । श्रीसिया नदी प्रदूषणमुक्त गर्ने अभियान अहिलेदेखि चलेको होइन, तीन दशक लामो समयदेखि विभिन्न सङ्घसंस्थाहरूले नदी प्रदूषणमुक्त अभियान सञ्चालन गरेका थिए तर अभियान सञ्चालन भइरहेसम्म प्रदूषण गर्ने कार्य मत्थर हुने र त्यसपछि अभियान सेलाउने र पुनः नदी प्रदूषण हुने कार्य जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here