प्रस, वीरगंज, १६ मङ्सिर/
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, वीरगंजले वैदेशिक रोजगारका लागि विदेशिन लागेका एकजना युवकलाई स्वरोजगारको लागि प्रोत्साहन गरेको छ ।
वैदेशिक रोजगारमा जान तयार रहेका वीरगंज महानगरपालिका–१६ इनर्वाका रमेश पटेललाई ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले आफ्नो गाउँटोलमा रोजगार गर्न सुझाउनुका साथै उनलाई फूलको व्यापारका लागि दुई हजारवटा बिरुवा सहयोग गरेका थिए ।
शनिवार पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले वीरगंज महानगरपालिका–१६ इनर्वामा पटेलको दुई बिघा जग्गामा फूल रोपेर व्यवसायको शुभारम्भ गराए । ग्रीनसिटीका अध्यक्ष खेतानले वीरगंजलगायतका क्षेत्रमा फूल भारतको कोलकातालगायतका स्थानबाट आयात हुँदा पटेललाई फूलको व्यवसाय सञ्चालन गर्न सुझाएको बताए । उनले पटेलले आफ्नो दुई बिघा जग्गामा फूलको व्यवसाय शुरू गरेको र ग्रीनसिटीले रु एक लाख मूल्य बराबरको दुई हजारवटा फूलको बिरुवा सहयोग गरेको बताए ।
कार्यक्रममा जिप्रका, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा, सशस्त्रका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह, वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मजङ्ग थिङ, प्रहरी निरीक्षक मनीषा लोढारी, वीरगंज भन्सारका प्रमुख केशवराज ओली, वीरगंज युवा समाजका पूर्वअध्यक्ष कमल चौगाई, सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलीप प्रधान, ग्रीनसिटीका अञ्जली गर्भ, सञ्जय शर्मा, रतन टेमानी, त्रिलोकचन्द दारुकालगायतले फूलको बिरुवा रोपेर पटेलको हौसला बढाएका थिए ।