प्रस, वीरगंज, १५ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले नक्कली प्रहरी बनेर रकम असुली गर्दै हिंडेका बाराका एकजनालाई वीरगंज महानगर–२३ सुगौलीबिर्ताबाट पक्राउ गरेको छ ।
जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले मङ्सिर १३ गते दिउँसो बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका–८ निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई नक्कली प्रहरी बनेर वीरगंज महानगर–२३ हरपतगंजका व्यापारीहरूसँग रकम असुल गरेको कसूरमा पक्राउ गरिएको बताए ।
उनले पक्राउ परेका कोइरीले आफूलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको घुमुवा प्रहरी बताएर स्थानीय व्यापारीहरूसँग रकम असुल गरिरहेको प्राप्त सूचनाका आधारमा वीरगंज महानगर–२३ सुगौलीबिर्तास्थित केमिकल कम्पनीअगाडिबाट पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाएको जानकारी गराए ।