प्रस, परवानीपुर, १० मङ्सिर/

वर्तमान समयमा दुई/चार सय रुपैयाँ कसैलाई सापटी दिन अधिकांश हिचकिचाउने गर्छन् तर पर्साका एकजनाले एक करोड ४० लाख मूल्य पर्ने तीन कट्ठा १२ धुर जग्गा सामाजिक कार्यको लागि दान गरेका छन्।

पटेर्वासुगौली गाउँपालिका–४ दक्षिण सुगौली टोल बस्ने ५२ वर्षीय मनोजकुमार चौधरीले गापाको प्रशासनिक भवन निर्माणको लागि बुबा र आमाको नामबाट उक्त जग्गा दान गरेका हुन्। बुबा रामराजराउत थारू र आमा चन्द्रमणि देवीको नाम अमर बनाउन झन्डै डेढ करोड मूल्यको जग्गा उनले दान गरेपछि अहिले गाउँभरि उनको चर्चा छ।

उनका बुबा तत्कालीन सुगौली गाउँपञ्चायतका प्रधानपञ्च थिए। तर दुई दशकअघि उनको निधन भएपछि बुबाआमाको नाम लोप हुन थालेको थियो। उनले बुबाआमाको नाम सधैंभरि सबैको सम्झनामा राखिराख्न आफूले अंश पाएको जग्गामध्येबाट तीन कट्ठा १२ धुर जग्गा गापालाई नामसारी गरी दान गरेका हुन्। दान गरिएको जग्गाको हालको मल्य प्रतिधुर रु दुई लाख छ।

२०४३ सालमा एसएलसी पास गरेका चौधरी पेशाले किसान हुन्। उनको दुई कट्ठा पाँच धुरको घडेरीमा पक्की घर छ भने १४ बिघा खेतमा विभिन्न बालीहरू लगाउँदै आएका छन्। अञ्जली र सिमरन चौधरी गरी दुईजना छोरी र एकजना छोरा देवव्रत चौधरी गरी उनका तीन सन्तान छन्। दुवै छोरीको बिहे गरिसकेका छन् चौधरीलाई छोरा देवव्रतले खेतीकिसानीमा सघाइरहेका छन्।

पत्नी सुनीता चौधरी पटेर्वासुगौली दापुस्थित नेरामावि सुगौली दापुकी प्राविका स्थायी शिक्षक हुन्। गत भदौ ४ गते गापा कार्यालयको भवन शिलान्यास कार्यक्रममा जग्गा हस्तान्तरण (दान) समारोहमा जग्गा दान गरिसकेपछि उनलाई भित्री मनबाट आफू र घरपरिवारलाई निकै राम्रो महसूस भएको उनले बताए। “जुन दिन मैले जग्गा दान गरें, त्यो दिन मलाई राति आनन्दको निद्रा लाग्यो, मन एकदमै हलुङ्गो भएको थियो। बुबाको ओझेलमा परेको नाम मैले पुनः चर्चामा ल्याएँ,” उनलेको जिकिर थियो।

उनले सामाजिक र सरकारी कामको लागि अरूहरूलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here